बाँके ।
नेपाल प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुखसहित २३ एसपीहरुको सोमबार काज सरुवा गरेको हो ।
बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलमा काज सरुवा भएको छ ।
उनको स्थानमा बाँकेमा काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा दरबन्दी रही हाल नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदलमा कार्यरत सन्तोष सिंह राठौर आउने भएका छन् ।
एसपी अधिकारी बाँके प्रहरी प्रमुखको रुपमा अठार महिनाभन्दा बढी समयदेखि कार्यरत रहेका थिए । कार्यालय प्रमुखको अवधि एक वर्ष हुने भएपनि उनले भने बाँकेमा डेढ वर्ष कार्यालय प्रमुख हुने अवसर पाएका हुन् ।
उनकै कार्यकालमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण रुपमा बाँकेमा सम्पन्न भएको थियो ।