कोहलपुर ।
कोहलपुरमा जिपको ठक्करबाट मृत्यु भएकी महिलाका आफन्तलाई पीडकले किरिया खर्च व्यहोर्ने सहमति भएको छ । शनिबार साँझ पैदल हिँडिरहेकी कोहलपुर–११ बस्ने ५२ वर्षीया उषा गुरुङलाई बा१ञ २४३८ नम्बरको जिपले ठक्कर दिएको थियो ।
गम्भीर घाइते भएकी उनको कोहलपुरस्थित कौशिल्या अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । उषालाई ठक्कर दिएर गाडी फरार हुँदा मृतकका आफन्तले शनिबार साँझ करिब दुई घण्टा चौराहामा चक्काजाम गरेका थिए । ईलाका प्रहरी कार्यालय कोहलपुरले शनिबार राति नै चालक बर्दियास्थित बाँसगढी–२ का विशाल ओलीलाई नियन्त्रणमा लिएको थियो ।
आइतबार मृतक पक्ष र पीडक पक्षबीच किरिया खर्चस्वरूप साढे चार लाख रूपैयाँ, बिमाबापतको पाँच लाख र एकजनालाई रोजगारी दिने सहमति भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) ऐनबहादुर मल्लले बताए । ‘दुवै पक्षबीच सहमति भएको छ । छलफलपछि मौखिक सहमति भएको हो । लिखित सहमति भएको छैन,’ उनले भने, ‘हामीले चालकलाई पक्राउ गरिसकेका छौँ । हामी थप प्रक्रिया चाल्छौं ।’
यता मृतकका आफन्त तथा नेकपा एमालेका नेता बलराम भट्टराईले पनि विद्युत् प्राधिकरण कोहलपुरले मृतक गुरुङका एकजना परिवारलाई रोजगारी दिने सहमति भएको बताए । ओलीले प्राधिकरणको गाडी चलाउँदै आएका छन् । किरिया खर्च भने स्वयम् चालकले नै व्यवहोर्ने सहमति भएको प्रहरी बताउँछ ।