18 September 2024  |   बुधबार, अशोज २, २०८१

बाँकेबाट प्रतिनिधि र प्रदेशसभामा २० जना सांसद

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, पुस ४, २०७९  

बाँके ।

प्रतिनिधिसभा र लुम्बिनी प्रदेशसभामा बाँकेबाट २० जनाले प्रतिनिधित्व गर्ने भएका छन् । बिहीबार निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष बुझाएको निर्वाचन परिणामसहितको प्रतिवेदनअनुसार बाँकेबाट २० सांसदले प्रतिनिधित्व गर्ने देखिएको हो । प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रक्रियाबाट बाँकेका २० जना सांसदले प्रतिनिधिसभा र लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्नेछन् ।

प्रतिनिधि र प्रदेशसभामा प्रतिनिधित्व गर्ने २० सांसदमध्ये १२ जना महिला र आठजना पुरुष छन् । प्रतिनिधिसभामा तीन प्रत्यक्ष र तीन समानुपातिक निर्वाचन प्रणालीमार्फत गरी ६ जना सांसद निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ । लुम्बिनी प्रदेशसभामा ६ जना प्रत्यक्ष र आठजना समानुपातिक निर्वाचन प्रणालीमार्फत गरी १४ जना सांसद निर्वाचित भएका हुन् ।

सबैभन्दा बढी नेपाली कांग्रेसबाट प्रतिनिधिसभा र प्रदेशसभामा सातजना सांसदहरुको प्रतिनिधित्व छ । कांग्रेसबाट प्रत्यक्षतर्फ बाँके ३ मा किशोरसिंह राठौर र ३ को प्रदेशसभा ३ (२)मा बादशाह कुर्मी विजयी भएका छन् । समानुपातिकबाट प्रतिनिधिसभामा आशा विक तथा प्रदेशसभामा माया पुन, सञ्जुकुमारी चौधरी, शुसीला बादी र मीनाकुमारी बोहरा (सिद्दीकी) सांसद बनेका हुन् ।

नेकपा एमालेबाट ६ जना प्रतिनिधि र प्रदेशसभामा सांसद बनेका छन् । प्रत्यक्षतर्फ बाँके १ मा सूर्यप्रसाद ढकाल, प्रदेशसभा १(२)मा दुर्गाप्रसाद चौधरी र ३ को प्रदेश सभा ३ (१)मा रत्न खत्री निर्वाचित भएका थिए । समानुपातिकतर्फ प्रतिनिधिसभामा दीपा शर्मा तथा प्रदेशसभामा वसन्ती न्यौपाने र सायरा बानो सांसद बनेका छन् ।

जनता समाजवादी पार्टी नेपालबाट प्रदेशसभामा तीनजना सांसद बनेका छन् । बाँके २ को प्रदेशसभा २ (१) बाट भण्डारीलाल यादव र प्रदेश सभा २ (२) बाट आदेशकुमार अग्रवाल तथा समानुपातिकबाट अम्बिका काफ्ले निर्वाचित भए ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीबाट लक्ष्मी तिवारी समानुपातिकबाट सांसद बनेकी छिन् । प्रतिनिधिसभामा बाँके २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका डा. धवलशमशेर राणा विजयी भएका थिए ।

नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक-एकजनाले मात्र प्रदेशसभामा प्रतिनिधित्व गरेका छन् । बाँके १ को प्रदेशसभा १ (१)मा माओवादीकी कृष्णा केसी (नमुना)ले निर्वाचित भएकी थिइन् । राप्रपाबाट भने समानुपातिकबाट मीनाकुमारी श्रेष्ठ सांसद बनेकी हुन् ।

प्रकाशित मितिः सोमवार, पुस ४, २०७९     11:19:39 AM  |