19 May 2024  |   आइतवार, जेष्ठ ६, २०८१

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालः खजुरामै जटिलखाले शल्यक्रिया

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, पुस १, २०७९  

बाँके ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले गत साता जटिल अवस्थामा पुगेको मुखको क्यान्सरको सफल शल्यक्रिया गरेको छ । अस्पतालले बाँकेको जानकी गाउँपालिका वडा नम्बर ६ पिप्रहवाका राजकुमार लोनियाको ‘स्टेज–४ बी’मा पुगेको मुखको क्यान्सरको सफल अप्रेसन गरेको हो ।

अस्पतालका हेड डा.ऋषिकेश ठाकुरले करिब आठ घण्टा लगाएर लोनियाको अप्रेसन गरेको जानकारी दिए । चिकित्सकहरुका अनुसार यो ठूलो सफलता हो । अस्पताल आएको १२औँ दिन लोनिया सफल अप्रेसन गरेर घर फर्किइसकेका छन् । लखनउको अस्पतालले धेरै पैसा लाग्ने र निको हुने ग्यारेन्टी नभएको बताएपछि लोनिया खजुरा क्यान्सर अस्पतालमा आएका थिए ।

मुख तथा अनुहारका सर्जन डा.शैलेश गौतमका अनुसार लोनियाको घाउले छाला र हड्डी समातिसकेको थियो । मुख बन्द भइसकेको थियो । घाटीसम्म फैलिएको थियो ।

बंगाराको हड्डी र आँखा तलको हड्डी फालेर लोनियाको गालामा छातीको मासु निकालेर लगाइएको छ । डा.गौतमले भने, ‘यो चरणमा पुगेको क्यान्सरलाई स्केज ४ बी भनिन्छ । स्टेज ४ ‘सी’मा पुगेपछि अप्रेसन गर्न मिल्दैन ।’ नेपालका ठूला अस्पतालले दिने सेवा खजुरा क्यान्सर अस्पतालले दिएको छ । यो अप्रेसन गर्न पर्याप्त पूर्वाधार र सामान चाहिन्छ ।

यो चरणको क्यान्सरको अप्रेसन गर्दा चार लाख रुपैयाँ खर्च लाग्ने चिकित्सकहरु बताउँछन् । डा.ठाकुरले खजुरामा योसहित थाइराइडका ठूला दुई वटा अप्रेसन गरेको बताए । अस्पतालका कार्यकारी निर्देशक डा.निरज भट्टराईले खजुरामा अहिले क्यान्सरका जटिल अप्रेसनहरु भइरहेको बताए ।

प्रकाशित मितिः शुक्रबार, पुस १, २०७९     8:43:36 AM  |