नेपालगन्ज ।
डडुवा गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९/८० को बजेट पारितका लागि पुस ४ गते गाउँसभा बस्ने भएको छ । लामो रस्साकस्सीपछि मंगलबार बसेको गाउँ कार्यपालिकाको बैठकले पुस ४ गते दिउसो २ बजे गाउँसभा आह्वान गर्ने निर्णय गरेको हो । आर्थिक वर्ष सुरु भएको साढे चार महिना बितिसक्दा पनि गाउँपालिकामा प्रतिनिधित्व गर्ने दलहरुबीच मतभेद हुँदा बजेट पास हुन सकेको छैन ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलका अनुसार बजेटमा असहमति राख्दै अएका वडाध्यक्षहरुको माग सम्बोधन गरेर बजेट ल्याउने सहमति भएको जानकारी दिए । उनका अनुसार वडाध्यक्षहरुले माग गर्दै आएको वडाका योजना छनोट र बजेट विनियोजनमा वडाध्यक्षको भूमिका सम्बोधन गरेर बजेट ल्याइनेछ ।
बजेट पारित नहुँदा गाउँपालिकाका दैनिक कामकाज पनि ठप्प भएका छन् । कर्मचारीहरुले तलब नपाएपछि आन्दोलनमा उत्रिएका छन् । नागरिकले पाउने सेवासुविधाबाट पनि वञ्चित हुनुपरेको छ । सामाजिक सुरक्षा भत्ता पाउने वर्ग पनि अधिकारबाट वञ्चित रहेका छन् । एमाले र जसपाबाट निर्वाचित वडाध्यक्षलगायत जनप्रतिनिधिहरुले यसअघि पटकपटक आह्वान गरेका गाउँसभा बहिस्कार गरेका थिए ।
गाउँपालिकामा अहिले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरु छन् । कांग्रेसबाट अध्यक्ष र उपाध्यक्षसहित एकजना वडाध्यक्ष गरी तीनजना, जसपाबाट तीनजना वडाध्यक्ष र एमालेबाट दुईजना वडाध्यक्ष जनताबाट निर्वाचित छन् । निर्वाचनपछि जसपा र एमालेले गाउँपालिकामा अध्यक्षविरुद्ध गठबन्धन गरे । १४ जना कार्यपालिका सदस्यमध्ये तीनजना मात्रै कांंग्रेसबाट छन् ।