बाँके ।
बर्दियाको बाँसगढी नगरपालिकामा आगोले जलेर एक वृद्धाको मृत्यु भएको छ । घरमै आगो ताप्ने क्रममा शरीरमा आगो लाग्दा जलेर सोमबार राति एक वृद्धाको ज्यान गएको हो ।
मृत्यु हुनेमा वडा नम्बर ८ जुरैनाकी ७३ वर्षीया इन्द्रा थारु रहेको ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीले जनाएको छ । घरसँगै रहेको टिनको छाप्रोमा आगो तापिरहेकी थारु जलेको अवस्थामा फेला परेकी थिइन् ।
रातिमा छोराबुहारी घरमा आउँदा आमा जलेको देखेपछि स्थानीय प्रहरीमा खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय मोतिपुर बाँसगढीबाट प्रहरी पुगेर हेर्दासमेत आगो तापिरहेको स्थानमा वृद्धा जलेको अवस्थामा भेटिएकी थिइन् ।
प्रहरीले आगो ताप्ने क्रममा कपडाबाट सल्केको आगोले जलेर मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । आवश्यक प्रक्रिया पु¥याएर पोस्टमार्टमपश्चात शवलाई आफन्तको जिम्मा लगाइएको ईलाका प्रहरी कार्यालय मोतिपुरले जनाएको छ ।