12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

किसानलाई विद्युतीय चारा मेसिन दिँदै बैजनाथ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर २८, २०७९  

नेपालगन्ज (बाँके) ।

पशुचौपायाको सहज आहारा व्यवस्थापनका लागि बैजनाथ गाउँपालिकाले यहाँका किसानलाई विद्युतीय चारा मेसिन सहयोग गर्ने भएको छ । पालिकाको ५० प्रतिशत अनुदान र किसानको सोही बराबर (५० प्रतिशत) लागतमा विद्युतीय चारा मेसिन सहयोग गर्न लागेको हो ।

यस आर्थिक वर्षमा बैजनाथलाई २० जना पशुचौपाया किसानलाई विद्युतीय चारा मेसिन सहयोग गर्ने छ । यसभन्दा अघिल्लो वर्ष पनि पालिकाले यहाँका २० जना किसानलाई विद्युतीय चारा मेसिन सहयोग गरेको थियो ।

त्यसभन्दा अघिल्लो आर्थिक वर्षमा भने एक सयजनालाई सादा मेसिन सहयोग गरेको थियो । एउटा विद्युतीय चारा मेसिनलाई ३६ हजारसम्म पर्ने अनुमान गरिएको छ । ‘जसको १८ हजार किसानले व्यहोर्ने र पालिकाको १८ हजार रुपैयाँ लगानी गर्छ,’ गाउँपालिकाअन्तर्गतको पशु सेवा शाखाका अधिकृत खड्गबहादुर सिंहले भने ।

यो सहयोग दर्ता भएका र नभएका दुवै प्रकारका किसानले पाउने उनले जनाए । ‘मानिसको खानाजस्तै हो पशुलाई आहारा,’ उनले भने, ‘पछिल्लो समय पशुलाई आहारा दिन छाडिएको छ ।’

पशुचौपायाबाट राम्रो लाभ लिन पनि उनीहरुलाई राम्रो र गुणस्तरीय आहारा दिन आवश्यक रहेको उनी बताउँछन् । ‘पशुलाई व्यवस्थितरुपमा आहारा दिने उद्देश्य हो,’ उनी भन्छन्, ‘यसका लागि पालिकाले किसानलाई सक्दो सहयोग गर्छ ।’ बैजनाथ गाउँपालिकामा तीन सय सातवटा व्यावसायिक पशुपालन व्यवसायी छन् ।

प्रकाशित मितिः बुधबार, मंसिर २८, २०७९     8:07:56 AM  |