बाँके ।
कर्णालीमा सहज हवाई यातायात नभएको भन्दै अनलाइन टिकटको व्यवस्था गर्न माग गरिएको छ । दुर्गम हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा तथा जुम्लाका नागरिकको सहज यातायातका लागि अनलाइन टिकट अनिवार्यरुपमा लागू हुनुपर्ने माग गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले दुर्गमका नागरिकको हवाई यातायातको समस्या सम्बोधनका निम्ति आवश्यक पहलका लागि गृह मन्त्रालयलगायत निकायलाई अनुरोध गरिएको जानकारी दिए ।
‘अनलाइन टिकटको व्यवस्था नहुँदा कालोबजारी बढ्नाका साथै टिकट लिनका लागि अनावश्यक भिडभाड र झैझगडा हुँदा शान्तिसुरक्षा प्रदान गर्नसमेत चुनौती थपिएको छ’ उनले भने ।
मुगुलगायत माथिल्लो कर्णालीका सबै जिल्लाका यात्रुको चापको अनुपातमा नियमित हवाई उडान र त्यसका लागि एयरलायन्सको हवाई टिकट वितरण अनलाइन प्रणालीमार्फत हुन सकेमात्र यहाँका नागरिकलाई सहजता मिल्ने हुम्लाका हरी कठायत बताउँछन् ।
अनलाइन टिकट वितरण सञ्चालनमा ल्याउन जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले सर्वदलीय बैठक बसेरै यसअघि निर्णय गरिसकेको जानकारी दिए ।
कर्णालीको हवाई उडानको समस्या सामाधानका लागि पूर्वमन्त्री नरेश भण्डारी नेतृत्वको टोलीले गत असोज ३० गते संस्कृति तथा पर्यटनमन्त्री जीवनराम श्रेष्ठलगायत सरोकारवालालाई ध्यानाकर्षणसहित मागपत्र बुझाएको थियो । कर्णालीमा सेवा दिइरहेका नेपाल एयरलायन्स, सीता, तारा र समिट एयरलायन्सले हवाई टिकट व्यवस्थित नगर्दा यात्रुले हैरानी खेपिरहेका छन् ।