नमस्ते सहकारीको साधारण सभा सम्पन्न



बाँके ।

नमस्ते बचत तथा ऋण सहकारी संस्थाको १३औं साधारण सभा सम्पन्न भएको छ । मंसीर २२ गतेदेखि सुरु भएको इकाई स्तरिय साधारण सभा शनिबार नेपालगन्जमा निर्णयार्थ पेशसहित सम्पन्न भएको हो ।

साधारण सभामा आर्थिक वर्ष २०७८/०७९ को प्रगति तथा २०७९/०८० को वार्षिक नीति, कार्यक्रम र बजेटसँगै, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन समेत प्रस्तुत भएको थियो ।

आ.व.०७८/०७९ मा संस्थाको ९८ करोड ६७ लाख ३१ हजार ९४३ रुपैयाँ ४४ पैसा बराबरको सम्पत्ति रहेको संस्थाको शेयर पुँजी ५ करोड ९३ लाख १३ हजार ९ सय रुपैयाँ रहेको छ । त्यसैगरी कर्जा लगानी ७८ करोड ८५ लाख ६९ हजार ८ सय ४७ रुपैयाँ, निक्षेप संकलन ५३ करोड २३ लाख १७ हजार २५ रुपैयाँ ३४, बाह्य कर्जा २८ करोड ४० लाख पाँच सय १७ रुपैयाँ ६७ पैसा रहेको संस्थाले जनाएको छ । सहकारीले ५१ लाख २० हजार ८६०रुपैयाँ ९६ पैसा खुद नाफा आर्जन गरेको थियो ।

साधारण सभामा बोल्दै लुम्बिनी प्रदेश सहकारी संघका अध्यक्ष प्रेम सुवेदीले सहकारी संस्थाहरु नीति, विधि र प्रविधिमा सञ्चालन हुनुपर्ने बताएका थिए । साधारण सभाले बिष्णु बहादुर रिमालको अध्यक्षतामा सात सदस्यीय सञ्चालक समिति तथा खुम बहादुर खत्रीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति समेत निर्विरोध चयन गरेको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा जीवकला अधिकारी, सचिवमा प्रकाश ज्ञवाली, कोषाध्यक्षमा राजन शर्मा, सञ्चालक सदस्यहरुमा बाबुलाल श्रेष्ठ, प्रकाश अधिकारी र तारा केसी रहेका छन् । लेखा सुपरिवेक्षण समितिका सदस्यहरुमा फणाधर भण्डारी र राधिका के.सी. रहेका छन् ।

प्रकाशित मिति : २०७९ मंसिर २५ गते आइतबार