बाँके ।
बैजनाथ गाउँपालिकामा प्रथम उपप्रमुख कप अन्तर विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । पुस ६ गतेदेखि ९ गतेसम्म प्रथम उपप्रमुख कप बैजनाथ गाउँपालिकास्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिता हुन गइरहेको हो ।
खेलकुदका माध्यमबाट पालिकालाई पहिचान गराउने उद्देश्यका साथ उपप्रमुख कप अन्तर विद्यालय खेलकुद सुरु गरेको गाउँपालिका उपाध्यक्ष निर्मला रोकायले बताइन् । प्रतियोगितामा बैजनाथ गाउँपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयका आधारभूत र माध्यमिक विद्यालयका छात्रछात्राहरु सहभागी हुनेछन् ।
खेलकुदका लागि लोगो र कार्यविधिसमेत सार्वजनिक गरिसकिएको छ । लोगोमा थारु समुदायका पहिलो सहिद स्वर्गीय बैजनाथ थारुको शालिकमा राखिएको छ । पालिकाको नामसमेत थारु समुदायको पहिलो सहिद व्यक्ति बैजनाथ थारुकै नामबाट राखिएको थियो । पालिका उपप्रमुख रोकायले थारु समुदायको पहिलो सहिद स्वर्गीय बैजनाथ थारुको सम्मानमा शालिकको तस्विर लोगोमा राखिएको बताइन् ।
‘खेलकुदलाई सहज र सरलरुपमा सम्पन्न कार्यविधि बनिसकेको छ,’ उनले मिसन टुडेसँग भनिन्, ‘कार्यविधिमा खेलकुद प्रतियोगितामा के–के गर्ने, कसरी सञ्चालन गर्ने लगायतका विषय समावेश छन् ।’ प्रतियोगितामा आधारभूत विद्यालयतर्फ तीनवटा र माध्यमिक विद्यालयतर्फ १५ वटा खेलहरु हुनेछन् । प्रथम उपप्रमुख कप अन्तर विद्यालय खेलकुद प्रतियोगिताको तयारी तिव्र पारिएको गाउँपालिकाले जनाएको छ ।