7 September 2024  |   शनिबार, भदौ २२, २०८१

सांसद नमुनाले भनिन्ः कोहलपुरको विकासमा समन्वय र सहकार्य गर्छु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर २२, २०७९  

बाँके ।

बाँके क्षेत्र नम्बर १ (१) बाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना)ले कोहलपुरको विकासका लागि सहकार्य र समन्वय गरेर अगाडि बढ्ने बताएकी छिन् । बुधबार कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यलगायतका जनप्रतिनिधिसँग भएको भेटमा उनले विकास निर्माणका काममा सहकार्य गरेर अगाडि बढ्ने बताएकी हुन ।

कोहलपुर आफ्नो निर्वाचन क्षेत्रमा नपर्ने भए पनि यहाँको विकास र समृद्धिका लागि आफूले सक्दो सहयोग गर्ने सांसद नमुनाले बताइन् । ‘कोहलपुरका धेरै योजनाका लागि अघिल्लो कार्यकालमा समेत धेरै बजेट आएका छन्,’ उनले भनिन्, ‘दोस्रोपटक समेत यो क्षेत्रबाट म निर्वाचित नभए पनि कोहलपुरको विकासमा मैले सक्दो योगदान गर्छुँ ।’

कोहलपुर नगरपालिकासँग विकासका लागि सहकार्य र समन्वय गरेर आफू अगाडि बढ्ने प्रदेश सांसद नमुनाले दाबी गरिन् । ‘यो क्षेत्र मेरो निर्वाचन क्षेत्र नभए पनि यहाँको विकास समृद्धि गर्ने कुरामा म पछि हट्ने छैन,’ उनले अगाडि थपिन्, ‘स्थानीय सरकारसँग सहकार्य र समन्वय गरेर प्रदेश सरकारबाट योजनाहरु पार्न भूमिका खेल्छुँ ।’

मेयर आचार्य र वडा नम्बर १५ का अध्यक्ष दिपेन्द्र चौधरीले नवनिर्वाचित सांसद नमुनालाई खादा लगाएर नगरपालिकामा स्वागत गरेका थिए । उनीहरुले सांसद नमुनालाई कोहलपुरमा प्रदेश सरकारबाट विभिन्न विकास निर्माणका योजना पार्नको लागि भूमिका खेल्न आग्रह गरेका थिए ।

प्रकाशित मितिः बिहिबार, मंसिर २२, २०७९     10:29:17 AM  |