काठमाडौं ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार यतिबेला (बुधबार बिहान) देशको पहाडी क्षेत्रका थोरै स्थानमा आंशिक बदली (आकाशमा थोरै बादल) रही बाँकी ठाउँमा मौसम सामान्यतया सफा छ।
यस्तै आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भेगका साथै लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार राती प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ।
दिनप्रतिदिन तापक्रम घट्दै र चिसो बढ्दै गएको महाशाखाले जनाएको छ।
यस विषयमा महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गरेको छ।
जसमा भनिएको छ : तराई भूभागमा हुस्सु/कुहिरो लाग्ने तथा देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन हुन अनुरोध छ।
यसैबीच आज बिहान ५:४५ बजे गरिएको मापनअनुसार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको महाशाखाकी मौसमविद् बिनु महर्जनले जानकारी दिइन्। तर यो तापक्रम अहिले बिहान ८:४५ बजे अपडेट गरिनेछ। त्यतिबेला देशका अन्य स्थानको न्यूनतम तापक्रम पनि महाशाखाले सार्वजनिक गर्नेछ।
मौसमविद् महर्जनले अहिले तराईका थोरै स्थानमा हल्का हुस्सु लागेको र काठमाडौँ उपत्यकामा पनि पारदर्शिता कम भएको जानकारी दिइन्। बिहानीपख देखिएको हुस्सु/कुहिरो घाम लागेसँगै हटेर जाने उनले बताइन्।









प्रतिक्रिया दिनुहोस्