कोहलपुर ।
नेपाल वायु सेवा निगमले हुम्लाका लागि नियमित सेवा सुचारु गरेको छ । केही समययता हप्तामा दुई दिन मात्रै सिमीकोट उडान गर्दै आएको निगमले आइतबारबाट नियमित सेवा सुचारु गरेको हो ।
निगमले केही समयदेखि जहाजमा प्राविधिक समस्या देखिएका कारण हप्तामा दुईदिन मात्रै उडान गर्दै आएको थियो । नेपाल वायु सेवा निगमको क्षेत्रीय केन्द्र नेपालगन्जका अनुसार अब हप्तामा तीन दिन नियमित उडान हुनेछ ।
हप्ताको तीन बार आइतबार, सोमबार र मंगलबार नियमित उठान हुने स्टेशन ईन्चार्ज यामराज सिंहले बताए । उनका अनुसार केही समयदेखि हप्तामा दुई दिन मात्रै सेवा दिँदै आएकोमा अब हप्तामा तीन दिन लगातार सेवा प्रवाह हुनेछ । ‘केही समययता विविध कारणले नियमित सेवा सुचारु हुन सकेको थिएन । अब नियमित सेवा सुरु भएको छ । यसले सेवाग्राहीहरुलाई सहज हुने अपेक्षा गरिएको छ,’ उनले भने ।
निगम स्रोतका अनुसार जहाजमा समस्या आएका कारण नियमित सेवा प्रवाहमा समस्या भइरहेको थियो । अहिले निगमले जहाज मर्मत सम्भार गरेर सेवा प्रदान गर्न सुरु गरेको हो । आइतबार भने नेपालगन्ज–सिमीकोट जहाज उडेको थियो । सातजना यात्रु लिएर जहाज सिमीकोट उडेको हो । १४ जना सिट क्षमता भए पनि पहिलो दिन सातजना मात्रै सिमीकोट पुगेको उनले बताए ।
अहिले नेपालगन्जदेखि सिमीकोटसम्मको भाडाभर नौ हजार एक सय ७० रूपैयाँ छ । जाडोको समय भएका कारण हुम्लाबाट तराई झर्नेहरुको चाप रहेको उनको भनाइ छ । तर, नेपालगन्जबाट हुम्ला जाने यात्रुहरु थोरै हुन्छन् । हुम्लाको सिमीकोटका लागि नेपालगन्जबाट निगमका साथै निजी एयरलाइन्सहरुले समेत उडान भर्दै आएका छन् ।