वीरेन्द्र जैसी । नेपालगन्ज ।
कात्तिक १६ गते यस्तो अवस्थामा मृत भेटिएकी राप्तीसोनारी–७ की अपसरुल खाँँ (साकिरा)का पिता वाहव खानले छोरीको न्यायमा प्रहरीले असहयोग गरेको आरोप लगाएको छ ।
उनले आफूले छोरीका पति, जेठाजु, जेठानी, ससुरा र नन्दलगायतले कर्तव्य ज्यानमा मुद्धा दर्ता गर्न खोजेपनि प्रहरीले आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गर्न लगाएको पत्रकार सम्मेलन गरी बताएका हुन् । यस सम्बन्धमा मिसन टुडे दैनिकमा कात्तिक २२ गते नै विस्तृत समाचार प्रकाशन भइसकेको छ ।
खाँका पिता वाहवले प्रहरीले कर्तव्य ज्यानको मुद्धालाई जबरजस्ती आत्महत्या दुरुत्साहनमा मुद्धा दर्ता गराएकोले सही अनुसन्धान हुनेमा आशंका रहेको बताए । उनले आफूले प्रहरीमा जाहेरी दिन चाहेको कर्तव्य ज्यानको मुद्धामा सबैलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने समेत माग गरे । अहिले प्रहरीमा मृतकका पति मेराज शेष र जेठाजु आलमनि शेषमात्रै प्रहरी हिरासतमा छन् ।
वाहवले प्रहरीले मुचुल्कामा पनि धेरै कुरा छुटाएको तथा लाशको प्रकृति हेर्दा कुटपटि गरी हत्या गरिएको प्रष्ट देखिने बताए । खानले भने, ‘एसपी साबले तैले भन्दैमा मैले मुद्धा दर्ता गछुँ भन्दै हप्काउनु भो । कर्तव्य ज्यानमा जाहेरी दर्ता गर्न दिनुभएन । त्यसमाथि दुईजनाभन्दा बढीको नाममा किटानी गरेपछि पनि दर्ता गर्दिन भन्नुभयो । र बाध्य भए आत्महत्या दुरुत्साहनमा दर्ता गर्नुप¥यो ।’ उनले छोरीको कान र पाखुरामा भएको चोटबारे मुचुल्कामा उल्लेख नहुनु झन् शंकाक्ष्पद रहेको बताए ।
नेपालगन्ज ७ का वाहव की माइली छोरी हुन् , अपसरुल । कक्षा १२ सम्म पढेकी अपसरुलको दुई वर्षअघि राप्तीसोनारी–७ का मेराज अलि शेषसँग मागी विवाह भएको थियो । वाहवका अनुसार विवाहमा तोकेर दाइजो नमागिएपनि करिब २५ लाख खर्च गरेर छोरीको विहे गरिएको थियो । त्यतिबेला कसैले दाइजोको कुरा निकालेका थिएनन् ।
मेराज आफ्ना पिताको औषधी पसलमा काम गर्ने गरेका थिए । तर विहे भएको एक वर्षपछिदेखि छोरीलाई दाइजोका नाममा दुःख दिन थालेको भन्ने उनले गाईगुईं सुनेको बताउँछन् । छोरीसँग सोध्दा उनले त्यस्तो केही नभएको बताउँदै आएकी थिइन् । ‘छोरीले परिवार नबिग्रियोस भन्ने डरले नभनेकी होली,’ नेपालगन्जमा प्रिन्टर सन्चालन गर्दै आएका वाहवले भने ।
छोरीको मृत्यु भएको थाहा भएको अघिल्लो साँझ फोन गर्दा उनले रुँदै आफूलाई निकै अप्ठ्यारो भएको बताएकी थिइन् । ‘म धेरै परेसान छु भनेर रुँदै थिई । हामीले भोली नै आउँछौँ नआत्तिउ भनेर सम्झाउँदा सम्झाउँदै पछाडिबाट कसैले गाली गरेको सुन्यौँ । ब्यालेन्स सकिएर फोन काटियो । अर्काे बिहानै त तिम्री छोरीले ढोका खोलेकी छैन भनेर फोन आयो,’ वाहवले भने ।
छोरीको घर पुग्दा प्रहरी आइसके ढोका खोलेर हेर्दा छोरी घाँटीमा पासोसहित घुँडा टेकाके अवस्थामा मृत फेला परेको उनले बताए । प्रहरीले मुचुल्कामा संलग्न गरेको फोटोमा शरीरभरी निलडाम र चोटहरुका निसान छन् । घाँटीमा पासो लगाएको अवस्थामा रहेको शव खाटमा बसेको जस्तो देखिन्छ ।