12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

किसान सूचीकरण गर्दै कोहलपुर

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर १८, २०७९  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुर नगरपालिकाका किसानहरुको सूचीकरण गर्न थालेको छ । किसानको पहिचान गरी उपलब्ध गराइने सेवा सुविधाको पारदर्शीता तथा सुशासन अभिवृद्धिका लागि किसान सूचीकरण गर्न थालिएको हो । चालू आर्थिक वर्षको कार्यक्रमअन्तर्गत यहाँका किसान एकिन गर्न कोहलपुर नगरपालिकाले सूचीकरण प्रक्रिया सुरु गरेको छ ।

यो वर्ष नगरका १५ वडामध्ये ६ वटामा किसान सूचीकरण कार्यक्रम गर्ने नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिकाअन्तर्गत कृषि विकास शाखाका प्रमुख चन्द्रबहादुर बुढाका अनुसार नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कार्यक्रमअनुसार कोहलपुरमा पनि सूचीकरण प्रक्रिया सुरु भएको हो । मन्त्रालयको किसान सूचीकरण कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७७ अनुसार कोहलपुरमा पनि किसान सूचीकरण हुने उनले बताए ।

कोहलपुरमा किसानको विवरण विद्युतीय प्रणालीमार्फत सूचना संकलन गरी किसान सूचीकरण कार्यक्रम कार्यान्वयन गर्न चालू आर्थिक वर्षमा यहाँका वडा नम्बर ३, ४, ५, ६, ७ र ८ मा किसानको सूचीकरण हुने उनको भनाइ छ । किसान सूचीकरणका लागि आवश्यक गणकका लागि सूचनासमेत प्रकाशित भइरहेको कृषि शाखाका प्रमुख बुढाले बताए ।

ती वडामा किसान सूचीकरणका लागि आठजना गणक नियुक्ति गर्न लागिएको छ । ‘कोहलपुरमा यो कार्यक्रममा गत आर्थिक वर्षबाट सुरु भएको हो । यस वर्ष पनि सुरु हुँदैछ । यहाँका सम्पूर्ण वडामा नसकिने बेलासम्म सञ्चालन हुन्छ । यस वर्षको प्रक्रिया सुरु भयो । एक महिना मै गणक खटिन्छन्,’ उनले भने । यो कार्यक्रम देशभरि लागू छ । बाँकेका अन्य पालिकामा समेत काम भइरहेको छ । किसान सूचीकरण कार्यक्रमका लागि मन्त्रालयले कोहलपुरमा कूल चार लाख बजेट विनियोजन गरेको छ ।

कृषि विकास शाखाका अनुसार कोहलपुर १५ मध्ये वडा नम्बर १ र २ मा गत आर्थिक वर्षमा किसान सूचीकरण सम्पन्न भइसकेको छ । चालू आर्थिक वर्षमा थप ६ वटा वडामा किसान सूचीकरण हुने प्रमुख बुढाले बताए । आगामी आर्थिक वर्षमा बाँकी वडामा समेत सूचीकरण हुने उनको भनाइ छ । कोहलपुरमा एक सय ५० जना जति व्यावसायिक किसान रहेको कृषि शाखाले बताएको छ । गत आर्थिक वर्ष वडा नम्बर १ र २ मा १६ जना किसानको सूचीकरण गरिएको थियो ।

प्रकाशित मितिः आइतवार, मंसिर १८, २०७९     2:22:04 PM  |