शुभाकर विश्वकर्मा । कोहलपुर ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोहलपुरमा बनाइएको कोहलपुर चौराहा पार्कको सुन्दरता खस्किँदै गएको छ । सरोकारवाला निकायले यसको संरक्षण र रेखदेख गर्न नसक्दा उक्त पार्कको सौन्दर्यता खस्किँदै गएको हो । पूर्व र दक्षिणमा लुम्बिनी प्रदेश, पश्चिममा सुदूरपश्चिम र उत्तरमा कर्णाली प्रदेश जोड्ने प्रवेशद्वारको रूपमा रहेको पार्क संरक्षण र सरसफाइको प्रतीक्षामा छ ।
यहाँभित्र रहेका विभिन्न फूल तथा घाँससमेत उचित संरक्षण नहुँदा ओइलिएको अवस्थामा छन् । कोहलपुरको पहिचानका रूपमा रहेको कोहलपुर नगरपालिका–११ स्थित चौराहा चोक सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटीले व्यवस्थापनको जिम्मा लिएको छ । सिद्धार्थ बिजनेस ग्रुपले नगरपालिकासँग सहकार्यमा ५० लाखको लागतमा पार्क निर्माण गरेको थियो ।
पार्कको रेखदेखका लागि सिद्धार्थले नै मालीको व्यवस्था गरेको छ । १७ हजार पाँच सय वर्ग फिटमा फैलिएको कोहलपुर चौराहा पार्कलाई अझ व्यवस्थित र सुन्दर बनाउन स्थानीय सरकारले खास्सै पहलकदमी नलिएको गुनासो बढ्दै जान थालेको छ । पार्कमा लाइटिङसहित पानीको फोहरा र विश्रामस्थल बनेका छन् । ती संरचनाको उचित संरचना नहुँदा अहिले भत्किने अवस्थामा पुगेका स्थानीयको भनाइ छ ।
स्थानीय केशवप्रसाद लम्साल चौराहालाई यहाँको प्रमुख पर्यटकीय क्षेत्र बनाउनुपर्नेमा जोड दिन्छन् । उनका अनुसार चौराहालाई निजीरुपमा भन्दा पनि सरकारले सञ्चालन गर्नुपर्छ । यस्तै यहाँको व्यवस्थापन र सुन्दरतालाई ध्यान दिनुपर्नेमा उनको जोड छ ।
पार्कको बीचमा अग्लो स्तम्भको माथि पित्तलको बाघको प्रतिमा राखिएको छ । जुन बाघ संरक्षणका लागि स्थापना गरिएको बाँके राष्ट्रिय निकुञ्जको प्रतीक हो । बाघको प्रतिमा भने सानो हुँदा बिरालो जस्तो देखिएको टिप्पणी हुँदै आएको छ । पार्कभित्र दुबो र फूल रोपेर हरियाली र आकर्षक बनाउने प्रयास भइरहँदा यहाँको अवस्था भने खस्कँदो अवस्थामा पुगेको हो ।
पार्क स्थापनाका चार दशक
चौराहा पार्क स्थापना भएको चार दशक पुग्न थाल्यो । पार्क स्थापना भएको ३७ वर्ष पुगिसकेको छ । यो पार्क २०४२ सालमा स्थापना भएको थियो । पञ्चायतको सम्झनामा पार्क निर्माण गरिएको हो । पहिला यसको नाम ‘पञ्चायत रजत जयन्ती स्मारक’ थियो । २०६२/०६३ को आन्दोलनमा स्मारक भत्काइयो ।
तत्कालीन कोहलपुर गाविसका अध्यक्षसमेत रही सकेका कोहलपुर नगरपालिकाका पूर्व नगर प्रमुख लुटबहादुर रावतका अनुसार साविक कोहलपुर गाविस हुँदै अहिले कोहलपुर चौराहालाई सुन्दर र आकर्षक पार्कका रूपमा पर्यटन प्रवद्र्धनका लागि निर्माण गरिएको हो ।
चौराहा पार्कलाई आगामी १५ वर्षसम्म सिद्धार्थ गु्रपले नै मालीको व्यवस्था गरेर नियमितरुपमा रेखदेख मर्मत गर्ने कोहलपुर नगरपालिकासँग लिखित सम्झौता गरिएको छ ।