नेपालगन्ज ।
बाँकेबाट नव निर्वाचित प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यहरुले आर्थिक तथा व्यापारिक समस्याको नीतिगत समाधान खोज्ने प्रतिबद्धता जनाएका छन् ।
नेपाल उद्योग तथा व्यवसायी महासंघको आयोजनामा नेपालगन्जमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा सहभागी उनीहरुले बाँकेलाई औद्योगिक, व्यापारिक र पर्यटकीय हब बनाउन नीतिगतरुपमा पहल गर्ने बताए ।
उनीहरुले राज्यको अबको लक्ष्य आर्थिक विकास भएकोमा जोड दिँदै त्यसको लागि सहज आर्थिक वातावरण आवश्यक रहेको बताए । लगानीको वतावरण बनाई रोजगारीका अवसर सृजना गर्नेतर्फ अबको राज्यका नीतिहरु लक्षित हुनुपर्ने उनीहरुको साझा मत थियो ।
नेपाल उद्योग तथा व्यवसायी महासंघका अध्यक्षकृष्णप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बाँकेका प्रतिनिधि सभा सदस्यहरु डा. धवलशमशेर राणा, किशोरसिंह राठोर, जुम्लाका प्रतिनिधि सभा सदस्य ज्ञानेन्द्र शाही, प्रदेश सभा सदस्यहरु कृष्ण केसी (नमुना), दुर्गा थारु, रत्न खत्री र बादशाह कुर्मीको सहभागिता थियो । उनीहरुले उद्योगी व्यवसायीका समस्यामा जहिलेपनि साथमा रहेकोमा ऐक्यबद्धता जनाएका थिए ।