12 September 2024  |   शुक्रबार, भदौ २८, २०८१

भोट हालेर नोटको खोजीमा भारत

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर १६, २०७९  

विजयी भएका प्रतिनिधि तथा प्रदेश सभाका सदस्यहरु गाउँ–गाउँमा विजयउत्सव मनाइरहेका बेला मतदाता चाहीँ श्रमको खोजीमा भारततिर भौँतारिएका हुन् । सीमावर्ती क्षेत्रमा श्रमको सुविधा नहुँदा गढवा गाउँपालिका र राजपुर गाउँपालिका अन्र्तगत रहेका विभिन्न गाउँका बर्सेनी हजारौँ युवाहरु भारतका विभिन्न क्षेत्रमा रोजगारीका लागि जाने गर्दछन् । सीमावर्ती क्षेत्रका गाउँमा रोजगारी नहुँदा चिसो मौसममा पनि घरपरिवार छोडेर दुई पैसा कमाउनका लागि भारत जानु पर्ने बाध्यता रहेको स्थानीयहरु बताउँछन् ।

शिवु खनाल । दाङ ।

भारतसँग सीमा जोडिएको दाङका सीमावर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीयहरु मतदानपछि रोजगारीको लागि भारत जान थालेका छन् । विजयी भएका प्रतिनिधि तथा प्रदेश सभाका सदस्यहरु गाउँ–गाउँमा विजयउत्सव मनाइरहेका बेला मतदाता चाहीँ श्रमको खोजीमा भारततिर भौँतारिएका हुन् ।

सीमावर्ती क्षेत्रमा श्रमको सुविधा नहुँदा गढवा गाउँपालिका र राजपुर गाउँपालिका अन्र्तगत रहेका विभिन्न गाउँका बर्सेनी हजारौँ
(नाकाबासी) युवाहरु भारतका विभिन्न क्षेत्रमा रोजगारीका लागि जाने गर्दछन् । ‘भारतसँग सीमा जोडिएका नाकाको ग्रामिण बस्तीबाट बर्सेनी हजारौँ युवाहरु भारतका विभिन्न क्षेत्रमा रोजगारीका लागि जान्छन् । निर्वाचनमा मत दिएर विजयी भएका सांसदहरू सहर पसे नाकाका स्थानीयहरु मजदुरीका लागि भारत जान थालेका छन् ।’

राजपुर गाउँपालिका– ७ भैसाहीँनाका स्थानीय पूर्णबहादुर रोकाले भने । यता राजपुर गाउँपालिका–७ भैसाहीँनाकाका एकराज बुढाले आफूहरू ज्याला मजदुरी गर्न भारत जान लागेको बताए । उनी भन्छन्, ‘सीमावर्ती क्षेत्रका गाउँमा रोजगारी नहुँदा चिसो मौसममा पनि घरपरिवार छोडेर दुई पैसा कमाउनका लागि भारत जानु पर्ने बाध्यता रहेको छ ।’ भारतमा मजदुरी गर्न जानेहरू मंसीरदेखि फागुन महिनासम्म ज्यानको प्रवाह नगरी बालुवा, ढुङ्गा बोकेर पैसा कमाउने कार्यमा सक्रिय रहन्छन् ।

भारतको विभिन्न क्षेत्रमा काम पाइने भएको हुनाले भारतको मुम्बइको पुना, हरियाणा, चेन्नइ, हिमाञ्चल प्रदेश लगायतका खाडी मुलुकमा गएर सवारी साधनबाट लोड अनलोड, स्याउको पेटी बोक्ने, होटलमा भाडा माझ्ने लगायतका कामहरु गर्नु परेको भैसाहीँनाकाका अतिराम रानाले बताए । ‘मंसिर ४ मा मतदान गरियो । नेताले जितेपनि अब हाम्रो पेट पाल्नै प¥यो । भारत जान लागेको छु’ गाउँका साथीसँगै भारत जान लागेका उनले भने ।

प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतदानपछि भारतसँग सीमा जोडिएका विभिन्न नाकाहरुबाट करिब तीनसय भन्दा बढी युवाहरु रोजगारीका लागि भारत गएका छन् । यता मतदानपछि राजपुर गाउँपालिका–६ खांग्रानाकबाट मात्रै ५० जना युवाहरु रोजगारीको लागि भारतको पुना पुगेको स्थानीय सुरेश खड्काले जानकारी दिए । उनले घर आँगनमै सिंहदरबार आएपनि श्रमिकलाई रोजगारी सिर्जना गर्न नसकेको गुनासो गरे ।

प्रकाशित मितिः शुक्रबार, मंसिर १६, २०७९     12:47:33 PM  |