बाँके ।
बर्दियाको बाँसगढीबाट अवैध हातहतियार र वन्यजन्तुका अंगसहित एकजना पक्राउ परेका छन् । बाँसगढी नगरपालिका– ८ बनगौडीको एक घरबाट अवैध हातहतियार र वन्यजन्तुका अंगसहित एकजना पक्राउ परेका हुन् ।
स्थानीय ५० वर्षीय गुलराम थारुको घरमा छापा मारेर प्रहरी र बर्दिया निकुञ्जबाट खटिएको टोलिले अवैध हातहतियार र वन्यजन्तुका अंग बरामद गरेको थियो । विशेष सूचनाको आधारमा प्रहरी चौकी लक्ष्मण, बर्दिया राष्ट्रिय निकुञ्ज (रम्भापुर सेन्टर) र रम्भापुर आर्मी चेकपोष्टबाट सुरक्षाकर्मी घरमा पुगेका थिए ।
घरमा खानतलासी गर्दा भरुवा बन्दुक १ थान, सोही बन्दुकको नाल १ थान, गज १ थान, डेटोनेटर ८ थान, फलामको छर्रा (सानो र ठूलो) ५ सय १५ वटा, गोलीमा प्रयोग हुने फलामको टुक्रा १ सय ७५ वटा, बारुद १५ ग्राम, केप २५ वटा, चित्तलको मासु जस्तो देखिने सुकुटी १ किलो र बदेलको जस्तो देखिने दारा ४ वटा फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले दिएको जानकारीअनुसार गुलरामकी श्रीमती ५० वर्षीय पोटनी थारूलाई समेत नियन्त्रणमा लिइएको छ ।
गुलराम फरार भएपछि घरबाटै श्रीमती पक्राउ परेकी हुन् । यसबारे थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।