16 September 2024  |   मङ्लबार, अशोज १, २०८१

कोहलपुरबाट चोरीका सुन किन्ने व्यवसायी पक्राउ

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, मंसिर १५, २०७९  

बाँके ।

चोरीका गरगहना खरिद गरेको आरोपमा कोहलपुरका एक सुन व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । सुनका विभिन्न गरगहनाहरु बिलबिनै खरिद गरेको आरोपमा व्यवसायीलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा कोहलपुर– ११ मा रहेको कृष्ण गण्डकी सुनचाँदी ज्वलर्सका सञ्चालक २९ वर्षीय विकास विक रहेका छन् ।

विकलाई कोहलपुर बाबानगरको एक घरबाट चोरी भएका गरगहना खरिद गरेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको कोहलपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) ऐनबहादुर मल्लले जानकारी दिए । ‘चोरीका केही गरगहना सुन व्यवसायीले किनेको भेटिएपछि हामीले उहाँलाई पक्राउ गरेका हौं’ उनले भने, ‘बिल बिनै व्यवसायीले सुन गरगहना खरिद गरेको भेटियो ।’

गत मंसीर १० गते कोहलपुरको बाबानगरमा रहेको निरमाया परियारको कोठाबाट सुनका गरगहनासहित अन्य सामान चोरी भएका थिए । कोठाबाट चोरी गर्ने शुसिला विकले सुनका पिजडा एक जोडी र १० आनाको सुनको चुरा एक जोडि कृष्ण गण्डकी सुनचाँदी ज्वलर्समा बिक्री गरेकी थिइन् ।

परियारको कोठाबाट मोबाईल एक थान, सुनको १२ आनाको पिजडा एक जोडि, १० आनाको सुनको चुरा एक जोडि, १४ आनाको सुनको औंठी एक थान, ४ आनाको माईली तिलहरी एक थान र २५ हजार रुपैयाँ नगद चोरी भएको थियो । चोरीमा संग्लन रहेको आरोपमा पक्राउ परेकी विकको बयानको आधारमा चोरीका गरगहना किन्दै आएका सुनचाँदी व्यवसायीलाई पक्राउ गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

‘पिजडा र चुरा किनेपछि स्वरुप परिवर्तनको लागि पगाली टुक्रा बनाएको अवस्थामा फेला परेको छ’ डीएसपी मल्लले भने, ‘चोरीमा संग्लन र चोरीका सामान किन्नेहरुको खोजीका लागि प्रहरी परिचालन गरिएको छ । चोरीका सामान किनेको भेटिए अन्य व्यवसायी समेत पक्राउ पर्छन् ।’

चोरीमा संग्लन शुसिला विक र सन्तोष शर्मासहित चोरीका सुन किने व्यवसायीलाई परियारमाथि चोरी मुद्दामा अदालतबाट म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।

यस्तै कोहलपुर प्रहरीले अटो रिक्साका ब्याट्री चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर– ११ का २३ वर्षीय राजेश देउला र सोही ठाउँकै १६ वर्षीय बालक रहेका छन् । उनीहरुले गत मंसीर ११ गते कोहलपुर प्रेमनगरमा भिमबहादुर मल्लको घरमै चार्जमा राखेको अटोका चारवटा ब्याट्री चोरी गरेका थिए । भोलिपल्ट नै प्रहरीले दुबै जनालाई चोरीका ब्याट्रीसहित पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान अगाडि बढाइएको कोहलपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, मंसिर १५, २०७९     9:06:53 AM  |