नेपालगन्ज ।
बाँकेबाट नवनिर्वाचित प्रदेश तथा प्रतिनिधिसभाका सदस्यलाई बाँकेको पर्यटन प्रवद्र्धनका मुद्दाहरुबारे ध्यानाकर्षण गराइएको छ । पर्यटन प्रवद्र्धन मञ्च बाँकेको आयोजनामा नेपालगन्जमा आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा जनप्रतिनिधिलाई बाँकेको पर्यटनका जल्दाबल्दा मुद्दाहरुबारे ध्यानाकर्षण गराइएको हो ।
पर्यटन व्यवसायीका तर्फबाट होटेल व्यवसायी भास्कर काफ्लेले ज्ञापनपत्र पढेर ध्यानाकर्षण गराएका थिए । उनले पर्यटनमैत्री कानुन निर्माण, लगानीमैत्री वातावरण, बाँके राष्ट्रिय निकुञ्जको बजारीकरण, नेपालगन्जबाट दिल्ली हवाइ उडान, पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठानको कलेज स्थापना, बहुउद्देश्यीय संग्रहालयलगायतका विषयमा पहल कदमी लिन आग्रह गरे ।
यसका साथै पर्यटकीय गन्तव्यको विकास र प्रवद्र्धन, नयाँ गन्तव्यको पहिचान र लगानी, कृषि पर्यटकीय पकेट क्षेत्र निर्माण र खेल पर्यटनमा जोड दिन आग्रह गरे । कार्यक्रममा क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणा, क्षेत्र नम्बर ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य किशोरसिंह राठौर, नवनिर्वाचित प्रदेशसभा सदस्य बादशाह कुर्मी, रत्न खत्री, भण्डारीलाल यादवलगायत जनप्रतिनिधिको सहभागिता थियो ।
उनीहरुले पर्यटनको प्रवद्र्धनका लागि उठाइएका मुद्दाहरुमा गम्भीरतापूर्वक पहलकदमी लिने प्रतिबद्धता व्यक्त गरेका छन् । मञ्चका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले अब पर्यटनको विकासलाई तिव्रता दिनु अति आवश्यक भइसकेकोले यसलाई संसद्मा जोडदाररूपले उठाउन माग गरे ।