18 September 2024  |   बुधबार, अशोज २, २०८१

कोहलपुर–सुर्खेत विद्युत् प्रसारण लाइन: तत्कालका लागि विवाद समाधान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर १४, २०७९  

बाँके ।

कोहलपुरदेखि सुर्खेतसम्म १३२ केभी प्रसारण लाइन निर्माणका लागि बाटो खुलेको छ । बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने एक सय ७५ रोपनी जग्गा प्रयोग गरेवापत नेपाल विद्युत् प्राधिकरणले सट्टाभर्ना वापत जग्गा दिने भएपछि विद्युत् प्रसारण लाइनको बाटो खुलेको हो ।
हाल निकुञ्जअन्तर्गतको जग्गा विद्युत् प्राधिकरणले प्रयोग गरेवापत अर्को जग्गा निकुञ्जलाई दिन प्रक्रिया सुरु भएपछि अवरोध हटेको कर्णाली प्रदेश विद्युत् प्राधिकरणका प्रमुख शम्भु कुसियात यादवले जानकारी दिए ।

एक सय ३२ केभी प्रसारण लाइन निर्माणका क्रममा कोहलपुरदेखि सुर्खेतसम्म एक सय ६२ वटा पोल राख्नुपर्ने हुन्छ । जसका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जमा मात्र ७४ वटा पोल गाड्नु पर्ने विद्युत् प्राधिकरणले जनाएको छ । जसमा ७४ पोलका लागि ४३ हेक्टर जमिन आवश्यक पर्छ । प्राधिकरणका अनुसार प्रसारण लाइन विस्तार गर्दा १३ हजार ५४ वटा रुख कटानमा गर्नुपर्छ ।

आयोजना निर्माण क्षेत्रमा सुर्खेतको वीरेन्द्रनगर, भेरीगंगा र लेकवेंशी नगरपालिकासहित बर्दिया र बाँके राष्ट्रिय निकुञ्जअन्तर्गत बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका पर्छ । निकुञ्जले व्यक्तिगत जग्गा उपलब्ध गराउन भनेपछि विद्युत् प्राधिकरणमार्फत असोज ६ गते निकुञ्ज आसपासमा व्यक्तिगत जमिन बेच्न चाहनेलाई लक्षित गर्दै सार्वजनिक सूचना निकालिएको थियो ।

उक्त सूचनाअनुसार जग्गा पाइएपछि अहिले जग्गा मूल्यांकनको काम सुरु भएको छ । कर्णाली प्रदेशमा प्राधिकरणका एक लाख ग्राहक छन् । करिब ३३ वर्ष पुरानो प्रसारण लाइनकै कारण विद्युत् आपूर्तिमा समस्या हुँदै आएको छ । कोहलपुरदेखि सुर्खेतसम्म झन्डै ८६ किलोमिटरको दूरीमा ९५ प्रतिशत भाग जंगल क्षेत्रभित्र पर्दछ । निकुञ्जसँग जोडिएको व्यक्तिगत जग्गा प्राप्त गर्न मूल्यांकनको काम सकेलगत्तै सो जग्गा निकुञ्जलाई दिएर निकुञ्जको जग्गामा भएका रुख कटान काम सुरु हुनेछ ।

आयोजनाअन्तर्गत कोहलपुरदेखि सुर्खेतसम्म २६ वटा एंगल टावर निर्माणको काम छिट्टै सुरु हुनेछ । दुई हप्ताभित्र जग्गाको काम पूरा हुने प्राधिकरणका प्रमुख कुसियत यादवले जानकारी दिए । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार प्रसारण लाइनले ७० हेक्टर जमिन वन क्षेत्रको ओगट्ने छ । यो कामको सुरुवातसँगै सुर्खेतबाट जाजरकोटको १३२ केभी लाइन विस्तारका लागि मेहलकुनामा सवस्टेशनको कामसमेत हुनेछ ।

अहिले १३२ केभी लाइन नहुँदा कर्णाली प्रदेशका जाजरकोट, रुकुम पश्चिम, सल्यान, सुर्खेत, कालीकोट र जुम्लामा समेत समस्या पर्दै आएको छ । त्यस्तै प्राधिकरणले जाजरकोटको कुदुबाट चौखा हुँदै डोल्पाको त्रिपुराकोटसम्मको विद्युत् लाइनको पुरानो ठेक्का रद्द गरेर नयाँ ठेक्कासमेत लगाइसकेको छ । त्यस्तै कालीकोटबाट जुम्लाका लागि समेत नयाँ ठेक्का सदर भइसकेको प्रमुख यादवले बताए । जाजरकोटमा समेत अन्य ठेक्काका काम भइरहेका छन् ।

दुई वर्षअघि ६० करोडमा ठेक्का लागेको प्रसारण लाइनको काम भदौमा नौ महिनाका लागि फेरि थप गरिएको छ । प्रसारण लाइन निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले लिएको छ । उसले प्रसारण लाइनको डिजाइन, निर्माण, परीक्षण, वितरण र प्लान्ट खरिदको काम सम्पन्न गर्नुपर्नेछ । अहिलेसम्म कम्पनीले ५० वटा पोलका लागि फाउन्डेसको काम गरेको छ ।

प्रकाशित मितिः बुधबार, मंसिर १४, २०७९     3:13:25 PM  |