शुभाकर विश्वकर्मा । कोहलपुर ।
बाँके निर्वाचन क्षेत्र नम्बर १ (२) बाट लुम्बिनी प्रदेश सदस्यको टिकट दिएपछि दुर्गाप्रसाद चौधरीले कोहलपुर–१५ बाट चुनावी प्रचारप्रसार अभियान सुरु गरेका थिए । नेकपा एमालेका लुम्बिनी प्रदेश उपसचिवसमेत रहेका चौधरीको चुनावी अभियान ११६ वर्षीय वयोवृद्धा महिलाको हातबाट आर्शीवाद थापेर सुरुवात भएको थियो ।
उक्त अवसरमा ती महिलाले भनेकी थिइन्, ‘बाबु जितेर देखाउनु, मेरोतर्फबाट शुभकामना ।’ संयोग भनौं, चौधरी लुम्बिनी प्रदेशसभा सदस्यमा विजयी भए । नेकपा माओवादी केन्द्रको पृष्ठभूमिका चौधरीले नेकपा एमालेको उम्मेदवारका रूपमा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका फुलाराम थारुलाई पराजित गरे । नेपाली कांग्रेसका थारुलाई आठ सय ७७ मतको अन्तरले पराजित गरे । नवनिर्वाचित दुर्गाले १५ हजार ६ सय ५७ मत प्राप्त गरका छन् ।
निकटतम प्रतिस्पर्धी फुलारामले १४ हजार सात सय ८० मत ल्याएका छन् । ऐतिहासिक जितपछि पहिलोपटक उनी उनै ११६ वर्षीय वृद्धाको घरमा गए । उम्मेदवारका रूपमा आर्शीवाद लिन पुगेका उनी निर्वाचित भएपछि सांसदको रूपमा त्यहाँ पुगेका छन् । फलफूल र पोष्टिक तत्व कोशेली लिएर गएका उनले त्यहीबाट अर्को अभियानको सुरु गरे । त्यो अभियानको नाम हो, ‘मतदाता भेटघाट तथा धन्दवाद कार्यक्रम ।’
शनिबारदेखि दैनिक चौधरी उम्मेदवारका रूपमा जसरी भोट माग्न जनताका घरदैलोमा थिए, अहिले पनि निर्वाचित सांसदको रूपमा मतदातालाई धन्यावाद दिइरहेका छन् ।
उनी मात्रै होइन बाँके १ बाट प्रतिनिधिसभामा निर्वाचित भएका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सूर्य ढकाल पनि मतदाताको घरदैलोमा छन् । चौधरी र ढकालले संयुक्तरूपमा कार्यक्रमको आयोजना गरेरै घरघरमा पुगेर मतदातालाई धन्यावाद ज्ञापन गरिरहेका छन् । नेकपा एमालेका बाँके जिल्ला इञ्चार्जसमेत रहेका ढकाल निर्वाचित भएलगत्तै नरैनापुर गाउँपालिका पुगेर फर्किइसकेका छन् । अहिले दुवैजना कोहलपुर नगरपालिकाका विभिन्न वडामा कार्यक्रमको तालिका नै बनाएर मतदातालाई भेटघाट गरिरहेका छन् ।
सोमबार मात्रै कोहलपुरका नौवटा वडामा पुगे । यस्तै आज पनि थप सातवटा वडामा पुग्ने कार्यक्रम रहेको ढकालले बताए । उनका अनुसार बाँके क्षेत्र नम्बर १ अन्तर्गत पर्ने तीनवटै पालिकामा पुग्ने कार्यक्रम छ । ‘हामी मतदातालाई धन्यावाद दिइरहेका छौँ । उहाँहरुसँग खुसी साटिरहेका छांै । यतिमात्रै होइन जनप्रतिनिधिका रूपमा हामीले गर्नुपर्ने कामका विषयमा सुझावसमेत मागिरहेका छौँ । अबको पाँच वर्ष हामी मतदाताको अपेक्षा र सुझावका आधारमा मात्रै काम गर्नेछौँ,’ नवनिर्वाचित प्रतिनिधिसभा सदस्य ढकालले भने ।
यस्तै बाँके १ (१) बाट लुम्बिनी प्रदेश सदस्यमा निर्वाचित नेकपा (माओवादी केन्द्र)की नेता तथा सांसद कृष्णा केसी (नमुना) पनि मतदाताको घरदैलोमा गएर विजयको खुसी साटिरहेकी छन् । यही क्षेत्रबाट लगातार दोस्रोपटक निर्वाचित भएकी उनी ‘मतदाता भेटघाट तथा धन्दवाद कार्यक्रम’ मै व्यस्त छिन् । नमुना २०७४ सालमा पनि बाँके १ (१) बाट निर्वाचित भएकी थिइन् ।
२०७४ मा निर्वाचन जितेका र फेरि चुनाव लडेकामध्ये फेरि निर्वाचित हुने एकमात्र नेता हुन् । यस्तै तीन प्रतिनिधिसभा र ६ प्रदेशसभामा निर्वाचित हुने एकमात्र महिला हुन्, नमुना । उनलाई जनताले भारी मतका लागि फेरि विजय गराएका छन् । उनीहरुको मतको उच्च कदर गर्दै अहिले मतदातालाई भेटेर धन्यावाद ज्ञापन गर्ने काम भइरहेको छ । उनका अनुसार नरैनापुर गाउँपालिकामा गएर मतदाताकासँग शुभकामना आदान प्रदान गर्ने कार्यक्रम सकिसकेको छ ।
यस्तै राप्तीसोनारी गाउँपालिकामा समेत मतदातासँग भेटघाट कार्यक्रम भएको उनले बताइन् । नमुना भन्छिन्, ‘मतदाताले धेरै विश्वास गरेर जिताउनु भएको छ । उहाँहरुको आशा कहिल्यै टुट्न दिने छैन । आगामी पाँच वर्ष यस क्षेत्रको विकास र समृद्धिका लागि सक्रिय हुनेछु ।’