18 September 2024  |   बुधबार, अशोज २, २०८१

‘एक्सन’ मा उत्रिए नेपालगन्जका मेयर विष्ट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, मंसिर १४, २०७९  

नेपालगन्ज । 

नेपालगन्जमा ट्राफिक अव्यवस्था, फुटपाथ अतिक्रमण, ठेला पसलको अव्यवस्था, सार्वजनिकस्थल अतिmक्रमणलगायतका विभिन्न समस्या विद्यमान छन् । जसमा नगरवासी नगरपालिकाको भूमिका खोजिरहेका छन् । तर, नेपालगन्ज उपमहानगरपालिका यी समस्याको समाधानमा सक्रियरुपले नलागेको नगरवासीको आरोप छ ।

सामाजिक सञ्जालमा यसबारेमा नगरवासीले बेलाबेला चासो राखेका विभिन्न पोष्ट देखिन्छन् । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट निर्वाचित भएको केही समय यी समस्यामा सक्रियरुपमा लाग्न नखोजेका पनि होइनन् । तर, निर्वाचन नजिकिएसँगै उनले यी काममा सक्रियता देखाउन छोडे । जानकार मतदाताहरु नभड्किउन भनेर मेयर पछि हटेको बताउँछन् ।

आखिर प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा विष्टको पार्टी कांग्रेसका कोही पनि उम्मेदवार निर्वाचित भएनन् । निर्वाचन सकिएर अन्तिम परिणाम आएकै दिन मेयर विष्ट सडकमा देखिए । सडकमा छाडा पशुचौपाया लखेटिरहेको अवस्थामा उनी देखिए । मेयर विष्ट पनि भन्छन्, ‘बीचमा चुनाव आएर हामी अलमलियौँ । अब एकएक गर्दै काम अघि बढाउने हो ।’

मेयर विष्ट अहिलेसम्म उपमहानगरपालिका चुप लागेर बसेको भने मान्दैनन् । उपमहानगरपालिकाले नगर प्रहरीमार्फत सम्झाउने बुझाउने, माइकिङ गर्नेलगायतका गतिविधि गर्दै आएको र अब एक्सनमै जानेगरी अघि बढेको उनको भनाइ छ । नेपालगन्जमा छाडा पशुचौपायाको समस्या समाधान हुन सकेको छैन । काञ्जि हाउसमा लगेर जति थुने पनि सडकमा छाडा पशुचौपाया सडकमा आउन रोकिएका छैनन् । जसका कारण सडकमा दुर्घटनाको जोखिम उच्च छ ।

नेपालगन्ज–२१ विर्तास्थित काञ्जिहाउस छ, जहाँ छाडा चौपाया लगेर थुन्ने गरिन्छ । मेयर विष्ट अब सडकमा रहेका छाडा पशुचौपाया नियन्त्रण र व्यवस्थापन कार्यलाई अभियानकै रूपमा अघि बढाइने बताउँछन् । जथाभावी पशुचौपाया छोड्नेले काञ्जि हाउसमा पु¥याइएका छाडा पशुचौपाया फिर्ता लिन दैनिक १५ सय रूपैयाँ जरिवाना तिर्नुपर्छ । सात दिनसम्म पनि कोही लिन नआएमा लिलाम गरिने उपमहानगरपालिकाले नीति लिएको छ ।

मेयर विष्टले नेपालगन्जमा विकराल समस्याका रूपमा रहेको सडकपेटि अतिक्रमण हटाउन सडकमा निस्किएको पनि देखियो । नगर प्रमुख विष्ट सडकपेटि खाली गराउन जेसिबी लिएर आफैँ निस्किए । सडकपेटि अतिक्रमण गरेर बनाइएका संरचना भत्काउन लगाए । नेपालगन्जलाई व्यवस्थित सहर बनाउने काम अब आफ्नो प्राथमिकतामा रहेको विष्ट बताउँछन् । तर यो काम गर्न सजिलो नभएको उनको भनाइ छ । ‘सहर आफ्नै हो, राम्रो काममा सहयोग गर्नुपर्छ भन्ने बुझाइ भएन । मेरो किन भत्कायो भनेर चित्त दुखाएको जस्तो देखियो । तर अब पहिले जसरी नै मनोमानी गर्न रोक्नैपर्छ । यसमा सबै नगरवासीले साथ दिनुहुनेछ भन्ने अपेक्षा छ,’ विष्टले भने ।

विस्टले भनेझै नेपालगन्जमा सहर व्यवस्थापनका काम गर्न सजिलो छैन । पहिले अतिक्रण हटाइएको बागेश्वरी मन्दिर अघिको खाली जग्गामा फेरि टहरा बनिसकेका छन् । यसका साथै नेपालगन्जमा अत्यधिक संख्यामा रहेका ई–रिक्सा र ठेलाको व्यवस्थापन झनै चुनौतीपूर्ण छ ।

अगाडि बनाउँदै जाने पछाडि पुनः उस्तै गतिविधि गर्दै जाने नगरवासीको प्रवृत्तिमा पनि सुधार आउन जरुरी छ । तर उपमहानगरपालिकाले पनि दीर्घकालीन योजना बनाइ देखाउनका लागि मात्रै केही दिन तडकभडक गर्ने र फेरि शान्त हुने प्रवृत्तिले सस्तो लोकप्रियताबाहेक परिणाम दिन नसक्नेतर्फ पनि सचेत हुनैपर्छ ।

प्रकाशित मितिः बुधबार, मंसिर १४, २०७९     1:05:43 PM  |