मिसन संवाददाता,नेपालगन्ज
नेपालगन्जमा सामाजिक सुरक्षा कोषको सम्पर्क कार्यालय नेपालगन्जमा सञ्चालनमा आएको छ । सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोष स्थापना गरेको पाँच वर्ष पुगेको अवसर पारी नपालगन्जमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको हो ।
नेपालगन्ज–१८ कारकाँदोस्थित श्रम तथा रोजगार कार्यालय भवनमा कोषको सम्पर्क सकार्यलय सञ्चालनमा ल्याइएको छ । कार्यालयको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माको प्रमुख आतिथ्यतामा कार्यालयको उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले कोष सञ्चालनमा आएको पाँच वर्षमा अपेक्षाअनुसार रोजगारदाता आबद्ध नभएको बताएका छन् । नेपालगन्ज रोजगारदाताको एक मुख्य केन्द्र भएको र अब सम्पर्क कार्यालय स्थापनासँगै कोषमा आबद्ध हुनेक्रम बढ्ने उनीहरुले अपेक्षा व्यक्त गरेका छन् ।
नेपालगन्ज औद्योगिक क्षेत्रका प्रमुख कृष्ण पुनले सामाजिक सुरक्षा कोष श्रमिकहरुको हितका लागि एक उत्कृष्ट मोडेल भएकोले यसमा आबद्ध हुन सबै उद्योगी तथा रोजगारदाातालाई आग्रह गरे । उद्योग परिसँघ नेपालगन्जका अध्यक्ष किरण कार्कीले अब रोजगारदाताहरु आबद्ध हुने क्रम बढ्ने र त्यसमा आफूहरु सहकार्य गर्न तयार रहेको बताए । कार्कीले कार्यालय खोलेको सार्थकता अब कोषमा आबद्ध हुनेहरु बढेमा मात्रै पुष्टि हुनतर्फ सचेत गराए । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शर्माले पनि कार्यालय खोलेर मात्रै नहुने भन्दै उनले अब रोजगारदातासम्मै कार्यालय पुग्न सक्नुपर्ने बताए । ‘कार्यालय खोलियो । अब सबै यतै आइहाल्छन् नि भनेर बस्यौँ भने हुँदैन । हामी आफै रोजगारदातासम्म पुग्नुपर्छ । त्यसका लागि हामी के गर्नुपर्छ तयार छौँ ।’
योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएको पाँच वर्षमा पाँच प्रतिशत श्रमिक मात्रै दायरामा आएका छन् । शनिबारसम्म १७ हजार चार सय ८३ रोजगारदाताले तीन लाख ७३ हजार एक सय ११ जनालाई मात्रै कोषमा सूचीकृत गराएका छन् । बाँकेका करिब दुई दर्जन रोजगार दातामात्रै कोषमा आबद्ध भएका बताइएको छ ।