मिसन संवाददाता ,कोहलपुर
कोहलपुर–११ चौराहा नजिकै रहेको रामजानकी गौशालाले बाँकेमा गौहत्याविरुद्ध विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय जनावरको रुपमा रहेको गाई संरक्षण गर्नुको साटो उल्टै हत्या गर्ने कार्य बढ्दै गएपछि गौशालाले सरकारको ध्यानाकर्षण गर्न विरोध प्रदर्शन गरेको हो ।
विरोध ¥याली गौशाला, चौहारा, न्यूरोड हुँदै ईलाका प्रशासन कार्यालय कोहलपुरमा गएर सकिएको थियो । उनीहरुले ‘गौहत्याका दोषीलाई कारबाही, गौचरनको व्यवस्था गर, राष्ट्रिय जनावार गाईको सरंक्षण गरौ’ भन्ने नारा लगाएका थिए । उक्त अवसरमा बोल्दै रामजानकी गौशालाका अध्यक्ष डा. ढकनाथ सापकोटाले बाँकेको खजुरा गाउँपालिकास्थित रणियापुरमा गाई मासु बरामद भएको खबरले स्तब्ध भएको बताए । एउटै क्षेत्रमा पटकपटक गाईको मासु बरामद गरे पनि दोषीलाई कारबाही नहुँदा समस्या भएको उनी बताउँछन् । शुक्रबार खजुरामा ६ क्विन्टल गाईको मासु बरामद भएको थियो ।
यसरी राष्ट्रिय जनावरको हत्या हुनु र राज्यले हत्यारालाई कडा कारबाही व्यवस्था नगर्नाले बर्सेनि गौ हत्याका खबर बाहिर आउन थालेका छन् । सोही अवसरमा विरोध प्रदर्शनमा सहभागीको उपस्थितिमा गौशालाका अध्यक्ष सापकोटाले ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख काशीप्रसाद पंगानीलाई दोषीमाथि कडा कारबाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् ।
उक्त ज्ञापनपत्रमा गौहत्याका दोषीलाई कारबाहीको माग गरिएको छ । ज्ञापनपत्र बुझ्दै ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख पंगानीले गौशालाको मागप्रति आफू गम्भीर भएको बताए । उनले मातहतका निकायमा ज्ञापनपत्र पठाउने पनि बताए । उक्त अवसरमा विभिन्न धार्मिक संस्थाका प्रतिनिधिको सहभागिता थियो ।