गरिमा विकास बैंकको रक्तदान कार्यक्रम: ५० प्वाइन्ट रगत संकलन



कोहलपुर : गरिमा विकास बैंक लिमिटेडको १६ औँ वार्षिकोत्सवको अवसरमा कोहलपुरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गरिमा विकास बैंक लिमिटेड कोहलपुरको आयोजनामा बुधबार बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कोहलपुर कलस्टर प्रमुख कुमार गुरुङ्गका अनुसार रक्तदान कार्यक्रममा ५० प्वाइन्ट रगत संकलन भएको छ । दिवसको अवसरमा विभिन्न क्षेत्रका ५० जनाले रक्तदान गरेको उनले बताए ।

बृहत रक्तदान कार्यक्रमको कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कल्पना शर्मा अधिकारीले उद्घाटन गरेकी थिइन् ।


उक्त अवसरमा बोल्दै रगतदान जीवनदान भएको बताइन् । उनका अनुसार रगतदान एक सामाजिक कार्य हो । मृत्युसँग जुधिरहेको मानिसलाई एक प्वाइन्ट रगत दिदाँ कसैको जीवन बच्ने कुरा पुण्य काम भएको उनको भनाइ थियो । अध्यक्ष अधिकारीले विभिन्न बैंक, सामाजिक संघ संस्थाहरुको सामाजिक कार्यमा स्थानीय सरकारको पूर्ण साथ हुने बताइन् । कोहलपुर कलस्टरका प्रमुख गुरुङ्गले १६ औँ वार्षिकोत्सवको अवसरमा देशभर झैँ कोहलपुरमा पनि रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

उनका अनुसार बैंकले हरेक वर्ष स्थापनाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।


‘स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजा गर्दै आएका छौँ । यसपटक पनि रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उल्लेख्य रुपमा रगत संकलन भएको छ । रक्तदाताहरुलाई विशेष आभार व्यक्त गर्न चाहन्छु,’ उनले भने । रक्तदान कार्यक्रममा बोल्दै बैंकका नेपालगन्ज शाखा प्रमुख हर्कबहादुर धामीले १६औं बर्षमा प्रवेश गरेको उपलक्षमा देशैभर रहेका बैंकका कलस्टर कार्यालयहरु र केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रमको आयोजना गरिएको बताए । उनले उद्घाटन समारोहमा स्वागत मन्तव्य समेत राखेका थिए । बाँकेका गरिमा विकास बैकले तीन ठाउँबाट सेवा दिइरहेको छ ।
नेपालगन्ज शाखा रहेको छ । कोहलपुर र चप्परगौडीमा कलस्टर कार्यालय रहेका छन् । नेपाल रेडक्रस सोसाइटीका प्रमुख राजेन्द्र कुमार महताराका अनुसार रक्तदान कार्यक्रममा प्राविधिक सहयोग गरेको थियो । कार्यक्रममा गरिमा विकास बैंक लिमिटेडका देशभर १२० शाखा रहेका छन् ।

 

 

 

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार