4 March 2024  |   सोमवार, फाल्गुन २१, २०८०

‘बेकारमा भोट हाल्न किन जाने ?’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९  

वीरेन्द्र जैसी, नेपालगन्ज, ४ मंसिर
नेपालगन्ज उपमहानगरपालिकाको वडा नम्बर ९ रंगशाला जाने बाटोको छेउमा फुटपाथमा लहरै बसेका मानिस । बाटोमा फाट्टफुट्ट आउने मानिसतिर आशा भरिएका नजरले हेरिरहेका । ‘के छ दाइ ? काम गर्ने मान्छे चाहियो भने भनिहाल्नुस्,’ एकजना युवा आएर अगाडि उभिए । उनीसहित त्यहाँ बसेकाहरु थिए, काम खोज्नलाई बसेका मजदुहरु । महिला र पुरुषहरु बराबर जत्तिकै संख्यामा रहेका उनीहरु अरु दिन राम लिला मैदान जाने बाटोमा बस्थे । तर आइतबार निर्वाचनका लागि नजिकै रहेको बालमन्दिरमा मतदान केन्द्र रहेकोले उनीहरु पर लखेटिएका थिए । यसरी दैनिकरुपमा मजदुरीको काम खोज्नेहरु पहिले त्रिभुवन चोकमा एकाबिहानै जम्मा हुन्थे । कोराना महामारीपछि उनीहरु रामलिला मैदान लखेटिए । त्यहाँ पनि उनीहरुलाई बस्न नदिन थालिएपछि सँगै रहेको गल्लीमा बस्छन् । त्यहाँ पनि स्थानीयहरुबाट उनीहरुले दैनिक हेलापूर्ण वचनहरु सहनुपर्छ ।


भोट हाल्न जानुभएन ? भन्ने प्रश्नमा ती युवाले उत्तर दिए, ‘नाईं । भोट हाल्न गए के खाने ?’ उनी थिए बर्दियाका जगन थारु । उनीसँग त्यहाँ रहेका अरु साथीहरुको नाम पनि मतदाता नामावलीमा रहेछ । तर, उनीहरु भोट हाल्नकै लागि घर जाने खर्च गर्न नसकिने मनस्थितमा नगएका रहेछन् । जगनले भने, ‘घर गयो भने हजार, दुई हजार खर्च भइहाल्छ । त्यही कमाउन हामीले एक हप्ता कुर्नुपर्छ । अनि बेकारमा किन जाने ?’ त्यहाँ भेटिएका अधिकांश मतदाता नामावलीमा नाम भएकैहरु थिए । उनीहरुले स्थानीय तहमा भने मत हालेको बताए । ‘त्यतिबेला त गाउँबाट लिनका लागि गाडी नै पठाइदिएका थिए । अहिले कसैले सम्झेनन्,’ एकजनाले भने ।

उनीहरु अधिकांश बर्दिया घर भएकाहरु रहेछन् । कतिपय बाँकेकै स्थानीय र अन्य जिल्लाका पनि थिए । उनीहरुले यसअघि मत दिएर जिताएकाहरुले आफूहरुका लागि कुनै काम गर्न नसकेको बताए । अब जितेर जानेले पनि आफ्नै लागि बाहेक अरुका लागि केही नगर्ने उनीहरुको भनाइ थियो । त्यही भएर मत हाल्न जान जाँगर नलागेको उनीहरुले खुलाए । उनीहरुमा मत हाल्न जान नपाएको चिन्ताभन्दा पनि आजको दिन बेकारमा जाने भयो भन्ने चिन्ता बढी थियो । बाटोमा आउने जोसुकैलाई उनीहरु आशापूर्ण नजरले हेर्थे । तर कसैले पनि उनीहरुलाई कामको अफर गरिरहेको थिएन । एक महिलाले भनिन्, ‘आज त यसै फिर्ता जानुपर्छ कि क्या हो ?’

प्रकाशित मितिः सोमवार, मंसिर ५, २०७९     9:31:15 AM  |