21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

साहित्यकार झमकले गरिन् मतदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९  

धनकुटा — साहित्यकार झमक घिमिरेले धनकुटा–६ स्थित बहुउद्धेश्यीय सामुदायिक भवन मतदान केन्द्रबाट मतदान गरेकी छिन् । घिमिरेले बिहान ११ बजे आफ्नो निवास कचिडेबाट १५ मिनेटनजिकको केन्द्रमा मतदान गरेकी हुन् ।

शारीरिक अवस्था जटिलता रहेकी उनलाई अटोमा राखेर मतदान केन्द्र बाहिरसम्म लगिएको थियो । मतदानस्थलमा भने घिमिरेका परिवारका सदस्यले बोकेर लगेका थिए । घिमिरेले देब्रे खुटाको औंलाले मतपत्रमा स्वस्तिक छाप लगाएकी थिइन् ।

‘नागरिकको अधिकारमा मताधिकार पनि महत्त्वपूर्ण रहेकोले मैले उत्साहसाथ मतदान गरें, मतदानमार्फत व्यक्तिको विचार प्रवाह हुन्छ ठानेर मतदान गर्न आएकी हुँ,’ उनले लिखित प्रतिक्रिया दिइन्, ‘मेरो मतको सदुपयोग हुने विश्वास लागेको छ ।’

उनलाई झमक घिमिरे साहित्य कला प्रतिष्ठानका अध्यक्ष गोपाल गुरागाईंको सहयोगबाट मतदानस्थलमा लगिएको थियो । ‘जीवन काँडा कि फूल’ कृतिका लागि मदन पुरस्कारबाट पुरस्कृत घिमिरेका कैयौं साहित्यिक कृति छन् । साहित्यकार घिमिरेसहित अपांगता भएका मतदाताका लागि सहज रूपमा मतदान गर्ने वातावरण मिलाइएको मुख्य निर्वाचन अधिकृत योगेन्द्र साहले जानकारी दिए ।

प्रकाशित मितिः आइतवार, मंसिर ४, २०७९     1:10:04 PM  |