मिसन संवाददाता,नेपालगन्ज
बाँके जिल्ला कारागारबाट सात सय २६ बन्दीको विवरण निर्वाचन आयोगमा पठाइयो । तर, प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा तीमध्ये दुईजना कैदीले मात्रै मतदान गर्न पाउने भएका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ७ का २९ वर्षीय आदित्य श्रेष्ठ र वडा नम्बर १६ का ४८ वर्षीय मोहम्मद तैयदअलि जोलाहाले मतदान गर्न पाउने कारागारका प्रमुख अर्जुनजंग शाहले जानकारी दिए ।
कैदीलगायतका अस्थायी मतदाताले प्रतिनिधिसभाको समानुपातिकतर्फको मतपत्रमा मात्रै मतदान गर्न पाउने छन् । निर्वाचन आयोगले यसपटक पहिलोपल्ट अस्थायी मतदाताका रूपमा कैदीहरुलाई मतदान गर्न पाउने व्यवस्था गरेको हो । प्रारम्भिक नामावलीमा १२ जनाको नाम उल्लेख भए पनि अन्तिम नामावलीमा दुईजनाको मात्रै नाम परेको शाहले जानकारी दिए ।
मतदान गर्न पाउने श्रेष्ठ लागुऔषध कारोबारको मुद्दामा करिब सात महिनादेखि पूर्पक्षका लागि कारागारमा छन् भने लागुऔषधसम्बन्धी मुद्दामा कारागार चलान भएका मोहम्मद करिब एक वर्षदेखि कारागारमा छन् । मोहम्मदलाई १० वर्षको कैद सजाय तोकिएको शाहले बताए । उनीहरुले नेपालगन्जस्थित भेटेनरी अस्पतालमा रहेको अस्थायी मतदान केन्द्रबाट मतदान गर्नेछन् ।
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी युवराज पन्तका अनुसार जिल्लामा कैदी बन्दीसहित करिब एक हजार ६ सय ६० जना अस्थायी मतदाता छन् । ती मतदाताहरुमा नेपाली सेना, नेपाल प्रहरी, निजामतितर्फका कर्मचारी छन् । अस्थायी मतदाताका लागि जिल्लामा भेटेनरी अस्पतालमा एउटा अस्थायी मतदान केन्द्र छ । मतदानमा खटिएका कर्मचारीहरुले भने खटिएकै मतदान केन्द्रबाट मत हाल्न पाउने छन् ।
प्रतिक्रिया दिनुहोस्