विमानस्थलमा खटियो सेना



नेपालगन्ज,
बाँकेमा नेपाली सेनालाई विमानस्थल सुरक्षाको जिम्मा दिइएको छ । प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै नेपालगन्ज विमानस्थल र कारागारमा सेनालाई सुरक्षा जिम्मा दिइएको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले जानकारी दिए ।


उनका अनुसार सीमा क्षेत्रमा तीनवटै सुरक्षा निकायलाई खटाइएको छ भने मतदान केन्द्र र भित्री घेराको सुरक्षा नेपाल प्रहरीले पाएको छ । त्यसभन्दा बाहिरी घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना खटिएको छ । निर्वाचनलाई शान्तिपूर्ण, भयरहित र निष्पक्षरुपमा सम्पन्न गराउन सबै निकायहरुलाई जिम्मेवारी तोकेर खटाइएको उनले बताए ।

यसैगरी सीमाक्षेत्रमा नेपाली सशस्त्र प्रहरी बल र भारतीय सीमा सुरक्षा बलले संयुक्तरुपमा गस्ती गरिरहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । मतदान नसकिउन्जेलसम्मका लागि सीमा नाकाहरु पूर्वरुपमा बन्द गरिएका छन् । नेपालगन्जको सीमानाका जमुनाहमा शुक्रबार पनि भारत आउने र भारत जान चाहनेहरुको घुइँचो थियो । भारतको रोजगारीबाट फर्किएका र बन्द भएको थाहा नपाइ नाका पुगेकाहरुलाई भारतीय सुरक्षाकर्मीको समन्वयमा प्रहरीले भित्रिन दिएको छ भने भारत जान चाहनेहरुलाई सुरक्षाकर्मीहरुले सम्झाइबुझाइ गर्दै फिर्ता पठाएका छन् । बिरामी तथा आपतविपत् परेकाहरुलाई पनि आवतजावत गर्न दिइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर ३ गते शनिबार