मिसन संवाददाता, नेपालगन्ज (बाँके), १ मंसीर
एम्सको वार्षिक क्यालेन्डरमा समावेश नेपालको एकमात्र म्याराथन इभेन्ट नेपालगन्ज म्याराथनको आसन्न आठौँ संस्करणमा सबै विधाको नगद पुरस्कार राशीमा वृद्धि गरिएको छ । म्याराथनका विजेताले अब एक लाख ५० हजार रुपैयाँबाट पुरस्कृत हुने छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट र केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक कुमुद दुगडलाई साक्षी राख्दै आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार नगद पुरस्कार घोषणा गरे । म्याराथनको अफिसियल होटल सोल्टी वेष्टन्ड प्रिमियरमा आयोजित पत्रकार सम्मेलनमा आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष एवम् नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले विभिन्न विधाको नगद पुरस्कार घोषणा गरे । शीर्ष आठ धावकलाई नगदबाट पुरस्कृत गर्ने क्रममा म्याराथन (४२.१९५किमी) तर्फ दोस्रोलाई ६० हजार, तेस्रोलाई ३० हजार, चौथोलाई १५ हजार, पाँचौंलाई १० हजार, छैटौंलाई ८ हजार, सातौंलाई ७ हजार र आठौंलाई ६ हजार नगद, पदक र प्रमाणपत्रले कदर गरिनेछ ।

DCIM101MEDIADJI_0546.JPG
त्यसैगरी महिला हाफ म्याराथनतर्फ प्रथमलाई ६० हजार, दोस्रोलाई ३० हजार, तेस्रोलाई १५ हजार, चौथोलाई १० हजार, पाँचौंलाई ८ हजार, छैटौंलाई ७ हजार, सातौंलाई ६ हजार र आठौंलाई ५ हजार नगद, पदक र प्रमाणपत्रले पुरस्कृत गरिनेछ । पुरुष १० किमी खुलातर्फ प्रथमलाई ३० हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई १० हजार तथा महिला ५ किमी खुलातर्फ प्रथमलाई २० हजार, दोस्रोलाई १० हजार र तेस्रोलाई ७ हजार प्रदान गरिनेछ । त्यस्तै विद्यालयस्तरी ५ किलोमिटर छात्र दौडमा प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजार एवं ३ किमी छात्रातर्फ प्रथमलाई १० हजार, दोस्रोलाई ७ हजार र तेस्रोलाई ५ हजारले पुरस्कृत गरिनेछ । ह्वीलचेयरमा शीर्ष तीन जनालाई १०हजार, ७ हजार र ५ हजार नगदले पुरस्कृत गरिनेछ ।
कर्पोरेट रनतर्फका विजेतालाई पोखरा अन्तर्राष्ट्रिय म्याराथनको रन फर फनमा सहभागी गराइनेछ । त्यसमा हवाई टिकट सहित दुई दिनको आवास तथा भोजनको व्यवस्थापन नेपालगन्ज म्याराथनले प्रदान गर्नेछ । किड्स रन तथा वाकाथनतर्फ गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । म्याराथन पूरा गर्ने सबैलाई फिनिसर मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक क्रियटिभ ह्याण्ड्सका अध्यक्ष ठकुरीले जानकारी गराए । कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका प्रमुख बिष्टले नेपालगन्ज म्याराथनले सम्पूर्ण नगरवासीलाई गौरवबोध गराउन सफल भएकोमा आगामी वर्षदेखि उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘शीर्ष धावकले बर्लिनभन्दा पनि राम्रो रुट नेपालगन्ज म्याराथनको रहेको सुन्दा निकै खुसी लाग्यो,’ उनले भने, ‘यसले अन्तर्राष्ट्रियस्वरूप ग्रहण गर्दै पर्यटकीय क्षेत्रमा पनि ठूलो आशा जगाइदिएको छ ।’
टाइटल स्पोन्सर धारा तेलको उत्पादक केएल दुगड ग्रुपका प्रबन्धनिर्देशक दुगडले धारा तेल र म्याराथनको अन्यानोश्रीत सम्बन्ध रहेको हुँदा सहकार्य गर्दै अघि बढेको बताए । ‘हामी नेपालगन्ज म्याराथनलाई धेरै उपल्लो उचाइमा लैजान तयार छौं, आयोजकसँग छलफल गरेर अगाडि बढ्ने वचन दिन चाहन्छु ।’ आठौं धारा नेपालगन्ज म्याराथन यही मंसीर २४ गते शनिबार आयोजना हुँदैछ । हरेक वर्ष मंसीरको पहिलो शनिबार आयोजना हुँदै आएको आठौं धारा नेपालगन्ज म्याराथन आमनिर्वाचनका कारण तीन साता पछाडि सारिएको हो ।
प्रतिक्रिया दिनुहोस्