29 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

भुँईमान्छेको कथा : स्वीटर बुन्ने ‘माण्ठा’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९  

शुभाकर विश्वकर्मा
मंसीर लाग्दैछ, बाँकेमा चिसो पनि बढ्दैछ । अर्कातिर चुनावको रौनक छ । चुनावी सरगर्मीले यहाँको चिसोलाई तातो बनाउँदैछ । दल र उम्मेदवार सपना बाँडिरहेका छन्, माइकमा, अटोमा, पर्चामा । घोषणापत्रमा । मतदाता आफूले चाहेको उम्मेदवार छान्न ब्रेग्र प्रतीक्षामा छन् । निर्वाचनको माहोल छ । घरदेखि समाज, चिया पसलदेखि गाउँसहर र सामाजिक सञ्जाल हुँदै मिडियासम्म चुनावकै चर्चा सुनिन्छ । तर, यी यस्ता पात्र हुन्, उनलाई यी सबै कुरासँग कुनै सरोकार छैन, कसैका सपना सुन्नु छैन । सरोकार छ त केवल दुवै हात दश औला खियाएर सिलाएका स्वीटर बेच्ने र पैसा कमाउने । उनी हुन्, जुम्लास्थित सिञ्जा गाउँपालिकाको बारेगाउँका परी रावत । रावत ऊनको कपडा बनाएर बिक्री गर्छन अनि जीविकोपार्जन गर्छन् । रावत ऊनका कपडा बन्न सिपालु छन् । यो काम उनले बचपनदेखि सिकेका थिए । उमेरले ६० कटिसकेका उनी अहिले पनि ऊनका विभिन्न कपडा बुन्छन् । राडीपाखी, लिउ र को, स्वीटर टोपी हातैले बनाउँछन्, उनी । यी सबै पहिरन भेडाको ऊनबाट बन्दछन् ।


शुक्रबार दिउसो हरियाली मार्गमा भेटिँदा उनी भन्दै थिए, ‘लौ आयो हजुर जुम्लाको भेंडाको ऊनबाट बनेको स्वीटर । सस्तो पनि बलियो पनि ।’ उनी अहिले बैजनाथ गाउँपालिका–१ बानियाँभारमा बस्दै आएका छन् । परिवारसहित उनी २०६० सालदेखि बानियाँभारमा आएका हुन् । समय, परिस्थिति र जिम्मेवारीले परीलाई जन्मथलो छोड्न बाध्य बनायो । तर, उनले भने मातृभूमिलाई भुलेका छैनन्, भुलेका छैनन्, त्यहाँको संस्कृति, संस्कार र भेषभुषा ।


सामान्य जुम्ली पहिरनमै आएका उनले काँधभरि स्वीटर बोकेका थिए । हातमा हिङ, सिलाजित र अर्गानिक औषधी हुने जडीबुटी थिए । उनी जुम्ला भेंडा पालन गथ्र्ये । त्यतिबेला उनका करिब दुई सयभन्दा बढी भेंडा थिए । अहिले पनि सिञ्जामा आफ्नो भाइ र छोराहरुले भेंडा पाल्छन् । ‘हाम्मा ठाउँमा हुँदा भेंडा हेर्थियाँ । त्यहीबेला सिक्या हुँ, स्वीटर बुन्न । अहिले पनि बुन्न छुँ । अनि बेच्न बजार डुल्लाउ,’ उनले आफ्नो मातृभाषामा भने ।
भेंडाको ऊनबाट बन्ने यो पहिरन बुन्न एकसाता लाग्छ । प्रतिस्वीटरको मूल्य न्यूनतम दुई हजार रूपैयाँ पर्छ । आफूले ल्याएको स्वीटर चाइनिज भेंडाको ऊनबाट बनेको बताए । टोपी भने जुम्ली भेंडाको ऊनबाटको बनेको रावतको भनाइ छ । उनी गर्मीयाममा स्वीटर बुन्दा रहेछन् । अनी चिसोको समयमा बिक्री गर्न बजार डुल्दा रहेछन् । स्वीटर, टोपी, राडीपाखी बिक्रीबाट राम्रै आम्दानी हुने उनले बताए ।


परीसँगै आएका थिए, ६९ वर्षीय रुपधन रोकाय । उनीहरु दुवैजना स्वीटर बेच्न हरेक दिन बैजनाथ र कोहलपुरका गाउँ, बजार घुम्छन् । रोकायको परिवार पनि बैजनाथ–३ मा बस्दै आएको छ । उनी घरका मुख्य माण्ठा (मान्छ) हुन्, उनी आफूले कमाएर परिवार पाल्दै आएका छन् । ‘भएका छोराछोरी टाढाटाढा बाइगया । मो बुढा माण्ठा स्वीटर बेच्छु । जीविकोपार्जन गर्छु,’ उनले भने ।
उनी पनि स्वीटर बुन्न सिपालु छन् । सानै उमेरदेखि आफूले यो सीप सिकेको बताए । जुम्ला हुँदा उनी पनि भेंडाका मालिक थिए । भेंडा चराउन जाँदा सानैदेखि सिकेको सीप उनलाई बुढेसकालमा काम लागेको छ । यहाँ पनि आफूले स्वीटर, राडीपाखी, कोट र टोपीहरु बुन्दै आएको रोकायले बताए । रोकाय भन्छन्, ‘यो भेंडाको ऊनबाट बन्छ । मेसिनमा पेलिएर धागो आउँछ । सुइँडोको सहायताले हातैले बुन्छु ।’ सानैदेखि सिकेकोको सीपले पाँचजनाको परिवार धानेको उनले बताए । उनले बजार आउँदा दैनिक तीनदेखि चार हजार रूपैयाँ कमाइ हुने बताए । रावत र रोकाय सानैदेखिका बालसखाहरु हुन्, उनीहरु स्वीटर मात्रै होइन, रिमुर, मरिज, माथिफल पनि बेच्छन् ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९     9:10:57 AM  |