21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

बम विष्फोट प्रकरण : निर्वाचन विथोल्ने प्रयास असफल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९  

मिसन संवाददाता नेपालगन्ज, १ मंसीर
नेपालगन्ज–१० कोरियनपुरमा बम विष्फोटको घटनामा विप्लव नेतृत्वको समूहको संलग्नता रहेको पुष्टि भएको छ । निर्वाचन विथोल्नका लागि बम बनाइरहेको बेला उक्त बम विष्फोट हुन गएको पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय बाँके नजिकै बुधबार राति ८ः१५ बजेतिर प्रेसर कुकुर बम विष्फोट हुँदा घाइते भएका दुईजना विप्लव नेतृत्वको समूहका विद्यार्थी संगठनमा आबद्ध रहेको खुलेको छ । उक्त घटनामा सल्यानका डिल्लीबहादुर डिसी र कैलालीका धर्मराज सुनार घाइते भएका छन् । डिसी सल्यान बागचौर नगरपालिका वडा नम्बर २ घर भइ हाल महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा अध्ययनरत रहेका र सुनार कालीकोट पालाताँ घर भइ हाल कैलालीको घोढाघोढी नगरपालिका–१ बस्दै आएका भन्ने खुलेको छ । डिसी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी ) को बाँके जिल्ला अध्यक्ष र सुनार नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) को सैन्य कमाण्डर रहेको प्रहरीले जनाएको छ ।


प्रहरीले विष्फोट भएको कोठाबाट तयारी अवस्थामा रहेको एकथान प्रेसर कुकर बम पनि बरामद गरेको थियो । ती बम नेपाली सेनाको बज्रदल गण राँझाबाट आएको टोलीले डिस्पोज गरेको थियो । यसैगरी विष्फोट भएको कोठाबाट पर्चा पम्पलेटहरु, सहयोग सम्बन्धमा लेखिएका पर्चा पम्पलेट, सहयोग रसिद, झण्डाहरु, दस्ताबेजहरु र छाप बरामद भएका छन् । बम बनाउने कार्यमा संलग्न अन्य केही व्यक्तिहरु फरार भएको र उनीहरुको खोजीकार्य जारी रहेको पनि प्रहरीले जनाएको छ । घाइतेहरुको भेरी अस्पतालमा प्रारम्भिक उपचारपछि नेपालगन्ज मेडिकल कलेजको आइसियुमा उपचार भइरहेको छ ।

विष्फोटको घटनाले बाँकेमा सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ । बम बनाउने सामग्री भारतबाट भिœयाइएको हो भने प्रहरीले सीमामा निगरानीमा कडाइ गर्न चुकेको पुष्टि हुन्छ । बाँके प्रहरी भने बम बनाइरहेको भन्ने पूर्व सूचनाका आधारमा सादा पोसाकमा प्रहरी टोली खटाएर खोजतलास गर्ने क्रममा प्रहरीलाई देखेपछि संलग्न व्यक्तिहरु विष्फोटक पदार्थहरु लुकाएर भाग्न खोज्दा विष्फोट भएको बताउँछ । बाँके प्रहरीले दिएको जानकारीमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का केही कार्यकर्ताहरुले आसन्न प्रतिनिधि तथा प्रदेशसभा चुनावलाई प्रभावित पार्नका लागि विष्फोटक पदार्थहरु तयार गरिरहेको भन्ने सूचना प्राप्त भएको,’ उल्लेख छ ।


बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी घाइतेहरु आइसियुमा रहेकोले उनीहरुको थप योजनाबारे बुझ्न नपाइएको बताउँछन् । यद्धपि बाँकेमै निर्वाचन विथोल्नका लागि बमको प्रयोग गर्नेगरी उनीहरुले तयारी गरेको बुझिन आएको उनको भनाइ छ । डिसी केही हप्ताअघि निर्वाचन विरोधी पर्चा पप्लेटिङ गरिरहेको अवस्थामा पक्राउ परी छुटेका व्यक्ति रहेको पनि एसपी अधिकारीले बताए । ‘त्यतिबेला पक्राउ गरेर हिरासतमै राखिराख्न मिल्ने कानुनी व्यवस्था थिएन । अहिले त बमसहित पक्राउ परेपछि उनीहरुलाई थप कारबाही अघि बढ्छ,’ अधिकारीले भने ।
यस घटनाको जिम्मा भने नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) लिएको छैन ।

कहाँकहाँ भयो निर्वाचन विरोधी गतिविधि
बाँकेमा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले चुनाव विरोधी गतिविधि ग्रिरहेका पाइएको छ । यी समूहहरुले कात्तिकमा आधा दर्जन स्थानमा निर्वाचन विरोधी भित्तेलेखन गरेका पाइएको प्रहरी स्रोतले जनाएको छ । बाँकेका तीनतीनवटा स्थानमा यी दुई समूहका नाममा ‘मंसीर ४ गतेको निर्वाचन बहिस्कार गरौँ’, ‘संसदीय चुनाव अवज्ञा र बहिस्कार गरौँ,’ ‘कथित चुनाव खारेज गरौँ,’ लगायतका निर्वाचन विरोधी नाराहरुको भित्तेलेखन गरेको पाइएको हो । विप्लव समूहका नाममा राप्तीसोनारी गाउँपालिकाको वडा नम्बर ६, ९ लगायतका स्थानमा र बहुमतको नाममा कोहलपुर वडा नम्बर ६, १३, जानकी वडा नम्बर ४ र नरैनापुर वडा नम्बर ६ जमुनी क्षेत्रमा यस्ता भित्तेलेखनहरु गरिएका पाइएको छ ।

अब खतरा घट्यो: प्रजिअ बाँके
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले अब निर्वाचनमा बम तथा विष्फोटक पदार्थ प्रयोगको खतरा घटेको बताएका छन् । मिसन टुडेसँग कुरा गर्दै प्रजिअ खत्रीले बम बनाइरहकै अवस्थामा पत्ता लागेर नियन्त्रणमा लिइएकोले अब बमको जोखिम कम भएको बताए । उनले बम बनाउँदै गर्दा घाइते भएका व्यक्तिहरु नै बम बनाउने व्यक्तिहरु भएको हुँदा थप जोखिम नरहेको उल्लेख गरे । यद्धपि थप जोखिमका विषयमा सुरक्षा निकायलाई सुक्ष्म अनुसन्धान गर्न निर्देशन दिइएको र सुरक्षा संवेदनशीलतामा थप कडाइ गरिएको उनको भनाइ छ । मतदाताहरुलाई निश्चिन्त भएर मतदानमा सहभागी पनि प्रजिअ खत्रीले आग्रह गरे ।

प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९     9:02:47 AM  |