21 February 2024  |   बुधबार, फाल्गुन ९, २०८०

मंसिर ४ : बाँकेमा तीन हजार ४० जना कर्मचारी परिचालन हुने

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९  

मिसन संवाददाता,नेपालगन्ज, १ मंसीर
बाँकेमा आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि कर्मचारीहरु आआफ्नो मतदानस्थलमा पुगेका छन् । निर्वाचनका लागि मतदान अधिकृतहरुले सामान बुझेर आ–आफ्नो तोकिएको ठाउँमा पुगेका निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले जानकारी दिइन् ।
बाँकेमा प्रतिनिधिसभाका लागि तीनवटा र प्रदेशसभाका ६ वटा निर्वाचन क्षेत्रहरु रहेका छन् । प्रत्येक प्रतिनिधिसभा क्षेत्रका लागि एकजना निर्वाचन अधिकृतसहितको टोली खटिएको छ । बाँके निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत एमप्रसाद बास्कोटाले सबै सामान र बन्दो बस्तीसहित मतदानस्थलमा पुगेका जानकारी दिए । बाँके प्रहरी प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले निर्वाचन सुरक्षाका लागि प्रहरी र म्यादी प्रहरीहरु पनि खटाइसकिएको जानकारी दिए । बाँकेमा प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जिल्लामा निर्वाचन सुरक्षालाई विशेष ध्यान दिएर सुरक्षा व्यवस्था मिलाइएको बताउँछन् ।

           निर्वाचनमा खटिने म्यादी प्रहरीलाई आवश्यक निर्देशन दिइँदै । तस्विरः मिसन टुडे

बाँकेमा परेन नमुना मतदानस्थलको योजना
गएको स्थानीय निर्वाचनमा नेपालगन्जस्थित राँझाको आदर्श मावि मतदान केन्द्रमा एकजना अपांगता भएका मतदाताले घिस्रिँदै गएर मतदान गरेको दृष्य भाइरल भयो । उक्त दृष्यका सन्दर्भमा केही दिनअघि एक टेलिभिजन अन्तर्वार्तामा निर्वाचन आयोगकका प्रमुख आयुक्त दिनेश थपलियाले माफी माग्दै भनेका छन्, ‘एउटा मतदान अधिकृतको असावधानीले २२ हजार मतदान केन्द्र लज्जित हुनुपर्ने अवस्था आयो । त्यसलाई मध्यनजर गरेर अहिले तालिम दिँदा यो विषयलाई गम्भीरतापूर्वक उठाइएको छ ।’ उनले मतदान केन्द्रलाई अपांगतामैत्री बनाउनका लागि प्रदेश राजधानी पर्ने ठाउँका एक सयवटा मतदान केन्द्रलाई साँच्चै नै अपांगतामैत्री मतदान केन्द्र कस्तो हुन्छ भन्ने देखाउने गरी नमुना मतदान केन्द्र बनाउने बताएका थिए । प्रदेश राजधानीलाई मात्रै तोकिँदा बाँकेमा त्यस्तो मतदान केन्द्र नपरेको निर्वाचन कार्यालय बाँकेका प्रमुख पन्तले बताइन् । यद्धपि यसपटक स्थानीय निर्वाचनका बेलाजस्तो चुन हुन नदिन तालिममा स्पष्ट निर्देशन दिइएको उनले बताएकी छन् । अहिले मतदान अधिकृतहरु पनि अनुभवी कर्मचारीहरुलाई जिम्मा दिइएको उनको भनाइ छ ।

जिल्लामा करिब ६ हजार दुई सय कर्मचारी खटिए
मंसीर ४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा निर्वाचनका लागि बाँकेमा ६ हजार दुई सयजना जनशक्ति खटिने भएका छन् । मतदान कर्मचारी र सुरक्षाकर्मी गरी ६ हजार एक सय ९० जना कर्मचारी खटिने भएका हुन् । जिल्लामा रहेका बाँकेका एक सय ३८ वटा मतदानस्थलमा रहेका तीन सय ८० मतदान केन्द्रका लागि कुल तीन हजार ४० जना कर्मचारीहरु खटिने छन् । यसैगरी सुरक्षाकर्मीतर्फ कुल तीन हजार एक सय ५० जना जनशक्ति खटिने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए । त्यसमध्ये एक हजार नौ सय ५९ जना म्यादी प्रहरी रहेका छन् ।

 

प्रकाशित मितिः शुक्रबार, मंसिर २, २०७९     8:59:23 AM  |