नेपालगन्ज १८ का वडाध्यक्ष बर्मा भन्छन् : ‘इश्तियाकले भ्रामक र झुटा प्रचार’ गरे



नेपालगन्ज, बाँके क्षेत्र नम्बर–२ प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले उनको कुनै भूमिका नभएका योजनामा पनि आफूले गरेको काम भन्दै प्रचार गरेको पाइएको छ । आफ्नो पलहमा सम्पन्न योजना भन्दै मतदातालाई बाँडेको पर्चामा राईले उनको भूमिका नै नभएका योजना पनि उल्लेख गरेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपक बर्माले बताएका छन् ।
बुधबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै बर्माले पूर्वमन्त्रीजस्तो व्यक्तिले मतदातालाई भ्रमित पार्नेगरी प्रचार गरिरहेको बताए । इश्तियाकको चुनावी पर्चामा उल्लेखित सडक तथा अन्य योजनाहरुमा उनको कुनै भूमिका नभएको उनले बताएका हुन् ।

नेपालगन्ज–१८ कारकाँदोमा वडा कार्यालयको बजेटबाट जडान गरिएका हाइमास्ट र निर्माण भएका सडकलाई समेत इश्तियाकले आफ्नो पर्चामा उल्लेख गरेको बर्माले बताए । इश्तियाक मन्त्री हुनुभन्दा पहिले नै बजेट सुनिश्चित भएका सहरी पूर्वाधार विकास आयोजनाअन्तर्गतका डेढ दर्जन बढी योजनालाई पनि मन्त्री राईले आफूले गरेका काम भन्दै प्रचार गरिरहेकोमा बर्माले आपत्ति जनाए ।
बर्माले राई मन्त्री हुनुभन्दा पहिले नै उपमहानगरपालिकाको सम्बन्धित कार्यदलले ती आयोजनाबारे गरेको निर्णयको प्रतिलिपी देखाउँदै भने, ‘उनको कुनै संलग्नता नभएका, पहिले नै तय भइसकेका, वडाको बजेटबाट भएका कामलाई पनि आफूले गरेको भन्दै हिँडेका छन् । यस्ता व्यक्तिबाट नेपालगन्जवासीले के आश गर्ने हुन् ? भ्रमको जगमा कुनै जनप्रतिनिधि चुनिनु हुँदैन ।’

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर १ गते बिहीबार