नेपालगन्ज, गएको स्थानीय निर्वाचनमा नेपालगन्ज उपमहानगरपालिकाको उपप्रमुखको ३३ प्रतिशतभन्दा बढी मत बदर भयो । उपप्रमुखको २० हजार पाँच सय ३२ मत बदर हुँदा उपप्रमुखका विजयी उम्मेदवार जनता समाजवादीका कमरुद्दीन राईको जम्मा प्राप्त मत मात्र १७ हजार नौ सय ५० थियो अनि राईका निकटतम प्रतिद्वन्द्वीसँगको मतको फरक मात्र सात हजार ३५ मात्र थियो । यो एउटा उदाहारण मात्रै हो ।
स्थानीय निर्वाचन २०७९ मा मतपत्र नै मतदाता झुक्किनेखालको थियो भने गठबन्धनका कारण पनि उम्मेदवार नै नरहेका चिन्हमा पनि मत खसालिँदा धेरैजसो मत बद हुने पुगे । निर्वाचन आयोगले यसपटक उक्त अवस्थालाई ध्यानमा राख्दै हरेक पदका लागि छुट्टै मतपत्र बनाएको छ । आगामी निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तथा प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक सदस्यका लागि गरी चार पदका लागि मतदान गर्नुपर्ने छ । ती चारै मतका लागि चारवटा मतपत्र बनाइएको छ । यसले पनि आसन्न निर्वाचनमा मत कम बदर हुने अपेक्षा गर्न सकिन्छ । स्थानीय तहको निर्वाचनभन्दा यसपटक दुई हजार सात सय ५८ मतदाता थप भएका छन् ।
तर यही कुरा पनि कतिपय मतदातालाई थाहा नभएको पाइएको छ । मतदाता शिक्षाको पहुँचका विषयमा मिसन टुडेकर्मीले नेपालगन्जमा भेटिएका केही व्यक्तिसँग जिज्ञाशा राख्दा अधिकांशले थाहा नभएको बताए । नेपालगन्ज–२ मा भेटिएका एक युवाले आफूले पहिलोपटक मतदान गर्न लागेको बताए । तर उनले कतिवटा मतपत्रमा छाप लगाउनुपर्ने हो थाहा नभएको बताए । उनले अहिलेसम्म कसैले आफूलाई मत हाल्ने तरिकाबारे जानकारी नपाएको बताए । नेपालगन्ज–४ मा एक पार्टीको चुनाव प्रचार कार्यालय रहेको घरको छिमेकी एक गृहणीले मतदान गर्ने तरिका कसैले नसिकाएको बताइन् । उनले पनि यसपटक चारवटा मतपत्र छन् भन्ने थाहा नभएको खुलाइन् ।
कतिपय ठाउँका मतदाताले भने महिला स्वयम्सेविका आएर मतदान गर्ने तरिका सिकाएको बताए । कतिपयले भने आफूले चासो राखेरै मतदान गर्ने तरिकाबारे थाहा पाएको बताए । अहिले विशेषगरी सामाजिक सञ्जालका माध्यमबाट धेरैले मत हाल्ने तरिका सिकेका पाइएको छ । त्यसमा टिकटक प्रभावकारी बनेको पाइयो । निर्वाचन कार्यालय बाँकेकी प्रमुख रमा पन्त यसपटक मत बदर कम हुने अपेक्षा गरिएको बताउँछिन् । स्थानीय निर्वाचनमा धेरै मत बदर भएपछि निर्वाचन आयोगले मतपत्र पनि सुधार गरेको र मतदाता शिक्षाका लागि पनि विशेष व्यवस्था गरेको उनले बताइन् । १५ दिने मतदाता शिक्षा कार्याक्रमअन्तर्गत हरेक स्थानीय तहको एक स्थानमा एक दिनका दरले नमुना मतदान गराइएको छ ।
ती मतदानहरुमा घटीमा ८० जनादेखि बढीमा एक सय ५० जनासम्म सहभागी भएका पन्तको भनाइ छ । यसैगरी हरेक वडामा एसएलसी उत्तीर्ण एकजना महिला स्वयम्सेवकलाई मतदाता शिक्षा आवश्यक भएका व्यक्तिहरुलाई शिक्षाका लागि खटाइएको उनले बताइन् । मौन अवधि सुरु हुनुभन्दा अघिसम्म उनीहरु काममै खटिने पन्तको भनाइ छ । यसका साथै स्थानीय एफएम रेडियोहरुबाट मतदाता शिक्षामूलक सामग्रीहरु पनि प्रसारण गरिएको छ । निर्वाचन आयोगले केन्द्रबाट टेलिभिजन र पत्रपत्रिकामा पनि मतदाता शिक्षामूलक सामग्रीहरु प्रकाशन एवम् प्रसारण गराएको पन्तले बताइन् । उनले भनिन्, ‘पहिलेको भन्दा अहिले मतदाता सचेत भएको पाएका छौँ । हामी पुगेका ठाउँमा मतदाताहरुले धेरै कुरा जानिसकेको हामीले पाएका छौँ ।’
जिल्लाका तीन निर्वाचन क्षेत्रमा तीन लाख ३२ हजार दुई सय ३१ मतदाताले निर्वाचनमा भाग लिन पाउने छन् । जसमध्ये एकलाख ६३ हजार तीन सय ६९ महिला, एक लाख ६८ हजार आठ सय ५३ पुरुष र नौजना अन्य मतदाता छन् । क्षेत्र नम्बर १ मा एक लाख २१ हजार एक सय, क्षेत्र नम्बर २ मा ९७ हजार आठ सय नौ र क्षेत्र नम्बर ३ मा एक लाख १३ हजार तीन सय २२ मतदाता छन् ।कर्मचारी मतदानस्थलतर्फ जाँदै
आजबाट मतदानका लागि खटिने कर्मचारीहरु मतदानस्थलतर्फ जानेक्रम सुरु हुने निर्वाचन कार्यालय बाँकेका प्रमुख रमा पन्तले जानकारी दिएकी छन् । जिल्लामा रहेका बाँकेका एक सय ३८ वटा मतदानस्थलमा रहेका भने तीन सय ८० मतदान केन्द्रका लागि कुल तीन हजार ४० जना कर्मचारीहरु खटिने छन् । निर्वाचन सामग्रीहरु सम्बन्धित निर्वाचन क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेका र सम्बन्धित मतदान अधिकृतले त्यहीँबाट बुझेर लिने व्यवस्था गरिएको पन्तको भनाइ छ ।
स्थानीय तह निर्वाचनभन्दा एउटा मतदान केन्द्र थप गरिएको छ । निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएका सोहीअनुसार सुरक्षाको बन्दोबस्त मिलाइएको उनले बताइन् । जसमा १०८ वटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील छन् ।
प्रतिक्रिया दिनुहोस्