नेपालगन्जमा भएको बम विष्फोटमा संलग्न विप्लवका कार्यकर्ता



नेपालगन्ज
नेपालगन्ज १० कोरियनपुरमा बम विष्फोटको घटनामा विप्लव नेतृत्वको समूहको संलग्नता रहेको पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँके नजिकै बुधबार राती करिब ८ बजेतिर बम विष्फोट हुँदा घाइते भएका दुईजना विप्लव नेतृत्वको समूहका विद्यार्थी संगठनमा अबद्ध रहेको खुलेको हो ।

उक्त घटनामा सल्यानका डिल्लीबहादुर डिसी र कैलालीका धर्मराज सुनार घाइते भएका छन् । घाइते सुनार र क्षेत्री नेत्रविक्रम चन्द नेतृत्वको विप्लप समुहका कार्यकर्ता रहेको र उनीहरुले बम बनाउने क्रममा विस्फोट हुन गएको पाइएको प्रहरीले जनाएको छ ।

सो विस्फोटमा परेर घाइते क्षेत्री विप्लव समुहको विद्यार्थी संगठनका बाँके जिल्ला अध्यक्ष रहेको र सुनार संगठनका कार्यकर्ता रहेको खुलेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता रामप्रसाद घर्ती मगरले जानकारी दिए । भाडामा बस्दै आएका उनीहरुको कोठाबाट प्रहरीले चन्दा ठेली तथा अन्य कागजपत्र समेत बरामद गरेको जनाएको छ । बम बनाउने कार्यमा संलग्न अन्य ३ जना फरार भएको पनि प्रहारीले जनाएको छ ।

घाइतेहरुको भेरी अस्पतालमा प्रारम्भिक उपचारपछि नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । सुरुमा ग्याँस विष्फोट भएको आशंका गरिएपनि घटनापछि प्रहरी पुग्दा बम विष्फोट भएको पुष्टि भएको थियो । प्रहरीले विष्फोट भएको कोठाबाट निर्माण भईसकेको दुईथान बम र बम बनाउने सामाग्री बरामद गरेको थियो ।

ती बमहरु नेपाली सेनाको बज्रदल गण राँझाबाट आएको टोलीले पहिलो राती १०ः४० बजे र बम ११ः०९ बजे डिस्पोज गरेको थियो ।
निर्वाचनलाई बिथोल्ने उद्देश्यले ती बमहरु बनाइएको हुनसक्ने आशंका गरिएको छ ।

विष्फोटको घटनाले बाँकेमा सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ । बम बनाउने सामग्री भारतबाट भित्र्याइएको हो भने प्रहरीले सीमामा निगरानीमा कडाई गर्न चुकेको पुष्टि हुन्छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ मंसिर १ गते बिहीबार