शुभाकर विश्वकर्मा,कोहलपुर
बर्दियाको बाँसगढी नगरपालिकाका पूर्व नगर प्रमुख हुन्, सालिकराम अधिकारी । २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमार्फत उनी नगर प्रमुखमा निर्वाचित भएका थिए । अधिकारीले लोकप्रिय जनप्रतिनिधिरुपमा कार्यकाल बिताए ।
सरल जीवनशैलीका नेताका रुपमा उनी परिचित छन् । पाँच वर्षको कार्यकालमा उनले समृद्ध र समुन्नत बाँसगढीका लागि बलियो जग बसालेका छन् । अत्यधिक बहुमतले विजयी भएका उनले जनताको अपेक्षालाई पूरा गर्न दिनरात आफ्नो वुद्धि, विवेक र क्षमताले भ्याएसम्म खटेर काम गरे । बाँसगढीको सुन्दर, रमणीय र मनमोहक दृश्य हेर्न लालाहित बनाउने गरी विकास गरेका छन् ।
नगर प्रमुख हुँदा उनले संविधानको मर्मअनुसार बाँसगढी नगरपालिकालाई आधारभूत शिक्षा निःशुल्क तथा अनिवार्य सेवा प्रदायक नगरपालिकाको रूपमा घोषणा गर्न सफल भए । त्यो अहिले कार्यान्वयनको चरणमा छ । दरबन्दी मिलान गरेँ । सबै विद्यालयमा तहगत स्थायी शिक्षकहरूको प्रनाध्यापक मिलान गरिएको छ । ‘प्लस टु’ विज्ञान विषयको कक्षा सञ्चालन गरी बाँसगढी नगरपालिकाअन्तर्गतका विद्यार्थीहरूलाई विशेष छात्रवृत्तिको व्यवस्था, शैक्षिक क्षेत्रमा न्यूनतम आवश्यकताका भौतिक पूर्वाधार निर्माण, गुणस्तरीय शिक्षाका लागि विभिन्न शैक्षिक सुधारका कार्यक्रम सञ्चालनका साथै सम्पूर्ण विद्यालयलाई एकीकृत सूचना प्रणालीमा आबद्ध गरे ।
वडावडामा एक आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरे । पाँच बेडको नगर अस्पताल सञ्चालनमा ल्याइएको छ । मातृ एवम् शिशु सुरक्षाका लागि घरमा सुत्केरी गराउने संख्यालाई शून्यमा ल्याउने उद्देश्यले बाँसगढी नगरपालिकाअन्तर्गतका वडा–१ को चेपाङ स्वास्थ्य चौकी, बेलवा स्थास्थ्य चौकी, मोतिपुर स्वास्थ्य चौकी र डेउडाकला स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । उनकै पालामा शिक्षा, स्वास्थ्य, खानेपानी, जनताका सेवा प्रवाहस्थलहरू, वडा कार्यालय भवनहरू, पर्यटकीय क्षेत्र केदारेश्वर धाम, सिमसार क्षेत्र राँझा, बबई भ्याली पर्यटकीय क्षेत्र, बडुकी भवानी मन्दिर, सहिद स्मृति पार्क, बालउद्यान, बराह ताल एवम् मदन स्मृति पार्कलगायत थुप्रै मठ मन्दिर, ऐतिहासिकस्थल र ताल तलैयाको संरक्षणको क्षेत्रमा काम भएका छन् । त्यस्तै पूर्वाधारको क्षेत्रमा कालोपत्रे सडक, ठूला पुलहरू, झोलुंगे पुल आदि निर्माण भएका छन् । किसानलाई आवश्यक पर्ने मल बिउ, कृषि उपकरण उपलब्ध गराउन सकिएको छ । त्यस्तै पशु बिमा, कृषि बिमाका क्षेत्रमा नगरपालिकाले अनुदानको व्यवस्था गरी किसानको संरक्षणमा जोड दिएको छ ।
स्थानीय तहको प्रमुख हुँदा जनताको मन जित्न सफल भएका अधिकारी मंसिर ४ गते हुने निर्वाचनमा नेकपा एमालेका तर्फबाट बर्दिया क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा उम्मेदवार छन् । ‘राष्ट्रियता, समृद्धि र विकासको धार, सक्षम नेतृत्व, सरल स्वभाव, परिवर्तनको आधार’ नारासहित उनी चुनावी मैदानमा छन् । विशिष्ट छवि, परिपक्व नेतृत्वको रुपमा छन्, शालिकराम । नेकपा एमाले बर्दियाका उपाध्यक्षसमेत रहेका उनी बलियो उम्मेदवारका रुपमा देखिएका छन् । उनी भन्छन्, ‘हिजो पनि हामी जनताको बीचमा थियौँ । आज पनि छौं । भोलि पनि जनताको बीचमै हुनेछौं । जनताले जिताउनेमा विश्वस्त छुँ ।’ उनका अनुसार स्थानीय तहको प्रमुख हुँदा अपुरा रहेका योजनालाई सफल बनाउन र जनताको अवस्था पविरर्तनका लागि प्रदेशसभा सदस्यका रुमपा आफूले काम गर्ने प्रतिबद्धता छ ।
लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सरिक भएका अधिकारी विपन्न जनता नै आफ्नो प्रमुख प्राथमिकता रहेको बताउँछन् । बाँसगढी र बढैयातालको समृद्धिको नारासहित उनी चुनावी मैदानमा छन् । अहिले उनी जनतामा घरदैलोसमेत गरिरहेका छन् । आफू जनताबाट अनुमोदित भएर सांसद भएपछि नमुना निर्वाचन क्षेत्र बनाउने उनको पतिबद्धता छ । बाँसगढी र बढैयाताललाई उनले समृद्ध र नमुना पालिका बनाउन खोजेका छन् । आफ्नो निर्वाचन क्षेत्रका जनताको रोजगारी र कृषिमा आधुनिकता ल्याउन प्रयासरत रहेको उनी बताउँछन् । किसान सम्मानका लागि उनले किसान चोकसमेत स्थापना गरेका छन् । जो नेपालमा पहिलो प्रयोग हो । यसले किसानसँगै थारु समुदायलाई सम्मान गरेको उनको बुझाइ छ । जागिर छाडेर उनले कम्युनिस्ट पार्टी र नेकपा एमाले जोगाउन प्रमुख भूमिका निर्वाह गरेका थिए ।
को हुन् सालिकराम ?
निवर्तमान बाँसगढी नगरपालिकाका नगर प्रमुख सालिकराम अधिकारीको जन्म २०२६ असोज ११ गते चितवनमा बुवा बुद्धिप्रसाद अधिकारी र आमा गंगादेवी अधिकारीको कोखबाट भएको थियो । हाल उनी बाँसगढी नगरपालिका वडा नम्बर ६ का स्थायीवासी हुन् । स्नातक तहसम्मको शैक्षिक योग्यता हासिल गरेका छन् । मध्यम वर्गीय परिवारमा जन्मिएका अधिकारी घरका जेष्ठ सुपुत्र हुन् । उनी विद्यालय अवस्था मै कम्युनिस्ट आन्दोलनमा जोडिएका थिए । २०३९ बाट राजनीतिमा सक्रिय उनी बर्दियाको अंशु बर्मा माध्यमिक विद्यालयबाट विद्यार्थी राजनीति सुरु गरेका व्यक्ति हुन् ।
पछि २०४१ सालमा शारदा माध्यमिक विद्यालय मैनापोखरमा प्रारम्भिक कमिटीमा औपचारिकरुपमा आबद्ध भए । २०४२ सालमै स्थानीय निर्वाचन (पञ्चायती व्यवस्था) मा जनपक्षीय उम्मेदवारलाई जिताउन चुनावी मोर्चामा आबद्ध भएका थिए । २०४४ सालमा अनेरास्ववियु बर्दियाको ५औँ सम्मेलनबाट जिल्ला सदस्यमा निर्वाचन भएका हुन् । अधिकारी २०४६ सालमा महेन्द्र बहुमुखी क्याम्पस प्रारम्भिक कमिटीको सचिव भए । पछि उनी जागिरको सिलसिलामा सुर्खेत गए ।
त्यहाँ पनि उनले राजनीति पनि गरे । विद्यार्थी राजनीतिकै क्रममा अनेरास्ववियु सुर्खेतको सचिव भएका थिए, २०४९ सालमा । २०४८÷०४९ जिल्लातिर बर्दिया जिल्लामा भएका मुक्तकमैया, सुकुम्बासी आन्दोलनमा पार्टीको तर्फबाट महŒवपूर्ण भूमिका निर्वाह गरेका थिए ।
२०५० सालमा अनेरास्ववियु सुर्खेतको १०औँ सम्मेलनबाट जिल्ला अध्यक्षमा निर्वाचित भए । नेकपा एमाले सुर्खेतबाट २०५१ सालमा पार्टी सदस्यता प्राप्त गरेको उनी बताउँछन् । २०५४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट साविक मोतिपुर गाविस वडा नम्बर ७ को वडा सदस्य निर्वाचित भएर जनप्रतिनिधिको रुपमा काम गरेका छन्, अधिकारीले । २०५६ सालमा पार्टी विभाजनपछि बर्दियाको जिल्ला कमिटी सदस्य बने । त्यतिबेला एमाले फुटेर नेकपा माले बनेको थियो । उनी भने एमाले मै रहे । सुर्खेतबाट बर्दिया आएर अधिकारी राजनीति गर्न थाले । नेकपा एमाले बर्दियाको ७औँ र ८औँ जिल्ला अधिवेशनबाट दुई कार्यकाल सचिवका रुपमा उनले जनताको सेवा गरेका हुन् । स्थानीय तह निर्वाचन २०७४ मा उनी बर्दियाको बासँगढी नगरपालिकाको प्रथम नगर प्रमुख निर्वाचित भए । राजनीतिलाई जनताको सेवा गर्ने अवसर बनाएका अधिकारीले नगर प्रमुख हुँदा बाँसगढीको विकासमा ठूलो योगदान दिएका छन् । २०७८ सालमा पार्टीको ९औँ जिल्ला अधिवेशनबाट जिल्ला कमिटी अध्यक्षको रुपमा समेत निर्वाचित भएका थिए । मंसिर ४ गते तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उनी नेकपा एमालेको तर्फबाट बर्दिया क्षेत्र नम्बर १ प्रदेश १ (क) बाट उम्मेदवार बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्