10 September 2024  |   मङ्लबार, भदौ २५, २०८१

आचारसंहिता उल्लंघनविरुद्ध ९ स्पष्टीकरण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, कार्तिक ३०, २०७९  

नेपालगन्ज,  जिल्लास्तरीय निर्वाचन आचारसंहिता अनुगमन समिति बाँकेले हालसम्म जिल्लाका नौजना उम्मेदवार तथा व्यक्तिलाई आचारसंहिता उल्लंघन गरेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ । ब्यानरको प्रयोग आचारसंहिताविपरीत गरेको, तोकिएभन्दा बढी प्रचार कार्यालय खोलेको, चामल तथा राहत बाँडेको विषयमा स्पष्टीकरण सोधिएको जिल्ला आचारसंहिता अनुगमन अधिकृत एवम् कोष तथा लेखा नियन्त्रण कार्यालय बाँकेका प्रमुख खडानन्द अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार रहेका दिवाकर खनाल र बागेश्वर चौलागाईंका साथै राप्रपा नेपाल, सद्भावना पार्टी, जसपाका उम्मेदवारहरुलाई आचारसंहिताविपरीत ब्यानर प्रयोग गरिएको विषयमा स्पष्टीकरण सोधिएको छ ।

स्पष्टीकरणपछि उनीहरुले जवाफ पनि दिएको र आचारसंहिताअनुसार ब्यानर हटाइएको अधिकारीले बताए । यस्तै राप्रपा र जसपाका उम्मेदवारहरुलाई तोकिएभन्दा बढी प्रचार कार्यालय खोलिएको सम्बन्धनमा स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरणपछि ती पार्टीले बढी भएका प्रचार कार्यालय हटाइएको जानकारी दिएका अधिकारीले बताए । यसैगरी नेपालगन्ज वडा नम्बर २० वा वडाध्यक्ष कौशलकुमार धोवीले वडावासीलाई चामल बाँडेको विषयमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेपछि त्यस सम्बन्धमा स्पष्टीकरण सोधिएको अधिकारीले जानकारी दिए । वडाध्यक्षले स्पष्टीकरण लेख्दै उक्त चामल वडाको नियमति बजेटबाट वितरण गरिएको जवाफ दिएका छन् ।

यसैगरी भोलेन्टियरिङ क्रस नेपालले राहत बाँड्ने कार्यक्रममा राप्रपाका नेताहरु सहभागी भएको विषयमा पनि उजुरी परेपछि उक्त संस्थालाई स्पष्टीकरण सोधिएको छ । उक्त विषयमा जवाफ दिँदै संस्थाले राहत बाड्ने कार्यक्रम पहिलेदेखि नै योजनामा रहेको संस्थाको नियमित कार्यक्रम रहेको जवाफ दिएको छ । यसैगरी कतिपय जसपाका उम्मेदवारका फ्लयाक्स बोर्ड आचारसंहिताविपरीत राखिएको विषयमा जाहेरी परेपछि हटाउन मौखिक निर्देशन दिएको र त्यसको पालना पनि भएको अधिकारीको भनाइ छ । स्पष्टीकरण सोधिएका कसैले पनि अवमूल्यन र असहयोग नगरेको उनको भनाइ छ ।

सामाजिक सञ्जाल काबुबाहिर
निर्वाचन आचारसंहितामा निर्वाचनमा प्रतिकुल असर पार्ने गरी एकाउण्ट सञ्चालन गर्न, होच्याउने, दूस्प्रचार गर्ने, अपमान गर्ने, द्वेषपूर्ण भाषण गर्ने, कुनै प्रयोजनका लागि प्रकाशन प्रसारण भएका सामग्रीलाई निर्वाचनमा प्रभाव पार्ने उद्देश्यले तोडमोड गराइ सामाजिक सञ्जालमा ट्याग, सेयर, कमेन्ट गर्न र गराउन नहुने उल्लेख छ । तर बाँकेमा यस व्यवस्थाको उल्लंघन भइरहेको छ । विशेष गरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा उम्मेदवारी दिएका मोहम्मद इश्तियाक राईलाई समर्थन गरिरहेका केही एकाउण्ट तथा पेजहरुमा आचारसंहितामा गर्न नहुने भनेर उल्लेखित सबै कामहरु भइरहेका छन् । ‘चेन्ज मेकर्स’ र ‘विकास पुरुष इश्तियाक राईलाई फेरि जिताऔं नेपालगन्जलाई समृद्ध बनाऔं’ नाम उल्लेखित पेजहरुबाट अर्का उम्मेदवारलाई होच्याउने गरी कार्टुन तथा मिमहरु पोष्ट र सेयर गरिएका छन् । त्यो पनि डलरमा पैसा तिरेर प्रमोशन गरिएका छन् ।
चुनावी प्रचारप्रसारको शैलीमा समयसँगै परिवर्तन आएको छ । अहिले सडमा जति प्रचारप्रसारमा दल तथा उम्मेदवारहरु केन्द्रित छन् त्यसभन्दा बढी सामाजिक सञ्जालमा प्रचारप्रसार भइरहेको छ । तर सामाजिक सञ्जालको अनुगमन गर्ने र संलग्नको पहिचान गर्नसक्ने जनशक्ति र स्रोत आफूहरुसँग नभएको बाँके निर्वाचन अनुगमन अधिकृत खडानन्द अधिकारी बताउँछन्

प्रकाशित मितिः बुधबार, कार्तिक ३०, २०७९     9:03:19 AM  |