बाँके ।
बर्दिया जिल्ला अदालतले ३० वर्ष कैद सजाय तोकेका एकजनालाई प्रहरीले करिब सात वर्षपछि पक्राउ गरेको छ । ठाकुरबाबा नगरपालिका–८ का टोपे भन्ने अजीव बुढाक्षेत्रीलाई प्रहरीले पक्राउ गरेको हो । कर्तव्य ज्यान र थुनुवा भागे भगाएको मुद्दामा अदालतले ३० वर्ष सजायको फैसला गरेका व्यक्तिलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बर्दिया जिल्ला अदालतले उनीलाई २०७३ पुस २४ गते कर्तव्य ज्यान र थुनुवा भागे भगाएको मुद्दामा गरी ३० वर्ष कैद सजायको फैसला गरेको थियो । २०७२ फागुन ५ गते राति स्थानीय ६९ वर्षीय जोरा सिंह भन्ने जोरे थापाको हत्या गरेको आरोपमा बुढाक्षेत्री पक्राउ परेका थिए ।
सोहीबेला प्रहरी अनुसन्धानबाट उनले थापालाई घरायसी विवादका कारण टाउकोमा धारिलो हतियार दाउ (गड्सा) प्रहार गरी हत्या गरेको खुलेको थियो ।
पक्राउ गरेर २०७२ फागुन ३० गतेका दिन बर्दिया जिल्ला अदालतमा उपस्थित गराइएकोमा अदालतको शौचालयबाट प्रहरीलाई झुक्याएर भागेका थिए । उक्त कारणले बर्दिया प्रहरीले बुढाक्षेत्रीलाई कर्तव्य ज्यानसँगै थुनुवा भागे भगाएको मुद्दामा समेत दर्ता गरेको थियो ।
अदालतले उनी पक्राउ नपरे पनि दुई मुद्दामा ३० वर्ष कैदको फैसला सुनाएको हो ।
अदालतबाट नै फरार रहेका उनीलाई घरमै लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका बुढाक्षेत्रीलाई अदालतमा बुझाइएकोमा अदालतको आदेशले बर्दिया कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्