20 May 2024  |   सोमवार, जेष्ठ ७, २०८१

‘वडाध्यक्ष र प्रहरीको मिलोमतोमा प्रतिवादी भगाइयो’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, कार्तिक २६, २०७९  

नेपालगन्ज ।

लेनदेन मुद्दाका एक प्रतिवादीलाई नेपालगन्जका एक वडाध्यक्ष र प्रहरीको मिलोमतोमा भगाइएको पीडितहरुले आरोप लगाएका छन् ।

२०७४ सालमा जग्गाको कारोबारका लागि भएको लेनदेनको सम्झौतामा नक्कली जग्गाधनी बनाएर रकम लिई ठगी गरेको मुद्दाका मुख्य प्रतिवादी विकासराज श्रेष्ठलाई नेपालगन्ज वडा नम्बर १२ का वडाध्यक्ष तरुण बज्राचार्य र बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको मिलोमतोमा भगाइएको जाहेरीकर्ताले मिसन टुडेलाई बताए ।

करिब दुई वर्षअघि जग्गा किन्नका लागि ३५ लाख बैना दिन आफूसँग श्रेष्ठलगायतका व्यक्तिहरुले सम्झौता गरी पैसा लिएकोमा पछि आफ्नो जग्गा भनेर बैनाको सम्झौता गर्ने व्यक्ति नै नक्कली भएको खुल्न आएको जाहेरीकर्ता काठमाडौंका रमेशकुमार थापा बताउँछन् । सम्झौताबमोजिम जग्गा पनि नपाइएपछि र पैसा पनि नपाइएपछि उनले प्रहरीमा जाहेरी दिए ।

प्रतिवादीविरुद्ध बाँके जिल्ला अदालतले २०७९ कात्तिक ७ गते पक्राउ पुर्जी पनि जारी ग¥यो । त्यसपछि फरार रहेका विकासराज श्रेष्ठ गत कात्तिक ५ गते जाहेरीकर्ता आफैँले नेपालगन्जमा फेला पारी प्रहरीलाई खबर गरे । प्रहरी आएर पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याउँछु भन्दै आफूलाई कार्यालयमा पठाइएको तर श्रेष्ठलाई कार्यालयमा उपस्थित नगराइकनै बाटैबाट वडाध्यक्ष बज्राचार्यले छुटाएर लगेको थापाको आरोप छ ।

पछि प्रहरीसँग बुझ्दा वडाध्यक्षले प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीसँग कुरा गरेर बाटैबाट छुटाएर लगेको थाहा भएको उनको भनाइ छ । वडाध्यक्षले प्रहरीले बोलाएको बेला उपस्थित गराउनेगरी जिम्मा लिएको बताएको उनको मोबाइलमा रेकर्ड छ । वडाध्यक्ष बज्राचार्य पनि श्रेष्ठलाई आफूले मिलापत्र गराइदिने शर्तमा छुटाएर लगेको स्वीकार्छन् ।

श्रेष्ठले आफू पैसा तिर्न तयार रहेको बताएको र थापाले पनि पैसा पाएमा आफू मुद्दामा अघि नबढ्न तयार रहेको बताएपछि कुरा मिलाइदिन भूमिका खेल्न खोजेको बज्राचार्यको भनाइ छ । तर श्रेष्ठले आफूलाई पनि ‘विश्वासघात’ गरेको उनको तर्क छ ।

अहिले श्रेष्ठलाई पक्राउ गर्न आफूले प्रहरीलाई सघाउने प्रयन्त गरिरहेको उनले बताए । प्रहरी प्रमुख श्यामकृष्ण अधिकारी पनि मिलापत्र गराइदिने शर्तमा वडाध्यक्षले जिम्मा लिएको स्वीकार्छन् । वडाध्यक्षले श्रेष्ठ हर्टअट्याक भएका व्यक्ति रहेको र दुवै पक्षले मिल्ने भए ठिकै छ भनेकोले त्यसो हुन गएको उनको भनाइ छ । तर, अहिले ती व्यक्ति लखनउमा उपचारका लागि गएको भन्ने सूचना आएको र आउनेबित्तिकै समातिने अधिकारीले बताए । जाहेरीकर्ताहरुले प्रक्रिया नबुझेर समस्या भएको उनको भनाइ छ ।

प्रकाशित मितिः शनिबार, कार्तिक २६, २०७९     12:26:07 PM  |