नेपालगन्ज विमानस्थलबाट डोल्पा पुग्नुपर्ने यात्रु मुगु पुगेपछि…



कोहलपुर ।

समिट एयरको मंगलबार बिहान ६ः२० बजे नेपालगन्ज–डोल्पा उडान थियो । उक्त जहाज चढ्न डोल्पास्थित ठूलोभेरी नगरपालिका–५ की राजकुमारी बुढा मंगलबार नेपालगन्ज एयरपोर्ट पुगिन् ।

उडानका लागि सबै प्रक्रिया पूरा गरेर उनी जहाजतर्फ लम्किइन् । तर उनी समिटको होइन, सोही समयमा नेपालगन्जबाट मुगु उडान भर्न लागेको नेपाल एयरलाइन्सको जहाजमा पुगिन् ।

जहाँ नेपाल एयरलाइन्सका कर्मचारीले उनलाई जहाजभित्र प्रवेश दिए । उनलाई लाग्यो, अबको केही समयमा डोल्पा पुग्छु । तर उनी डोल्पा होइन, मुगु पुगिन् । अनि अताल्लिइन् । भनिन्, ‘डोल्पा जाने मान्छे, कसरी मुगु आए ?’ नाबालक छोरासहित डोल्पा जानुपर्ने राजकुमारी एयरलायन्सको लापरबाहीका कारण मुगु पुगेकी हुन् ।

यस विषयमा सोधपुछ जारी रहेको नेपाल एयरलाइन्स नेपालगन्जका क्षेत्रीय प्रवन्धक किरणमान श्रेष्ठले जनाए । कसको कमजोरी हो त्यो अनुसन्धान भइरहेको उनी बताउँछन् । मुगु पुगेकी ति महिला करिब २/३ घण्टापछि तारा एयरबाट पुनः नेपालगन्ज फर्किएकी छिन् । नेपालगन्जबाट नेपाल एयरलाइन्सको जहाज करिब १४ जना यात्रु बोकेर मुगु पुगेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २४ गते बिहीबार