वीरेन्द्र जैसी । नेपालगन्ज ।
अघिल्लो आर्थिक वर्ष २०७८/८९ मा नेपालगन्ज भन्सार कार्यालयले साउन महिनामा लक्ष्यको १३१ प्रतिशत, भदौ महिनामा ९३ दशमलव ६८ प्रतिशत र असोज महिनामा लक्ष्यको १०१ दशमलव ३ प्रतिशत राजस्व असुल भएको थियो । तर चालु आर्थिक वर्ष २०७९÷८० को साउनमा ७५ दशमलव ७५ प्रतिशत, भदौ महिनामा ६४ दशमलव २५ प्रतिशत र असोज महिनामा ५४ दशमलव ८६ प्रतिशत राजस्व असुली भएको छ । यो गत वर्षको तुलनामा लक्ष्यको निकै कम असुली हो ।
राजस्व असुलीमा कमी आउनुमा व्यवसायी एवम् सम्बद्धहरु तस्करहरुका लागि भन्सार खुकुलो हुनु मुख्य कारण रहेको बताउँछन् । भन्सार प्रशासनले इमान्दारीपूर्वक काम नगरेको आरोप पनि लाग्दै आएको छ । नेपालगन्ज भन्सारका प्रमुख नरबहादुर थापा भने यस वर्ष राजस्व असुलीमा कमी आउनुमा सरकारले केही वस्तुहरुमा लगाएको प्रतिबन्ध र व्यवसायमा आएको गिरावट मुख्य कारण रहेको बताउँछन् । ‘सामान नै आयात भइदिएन भने इमान्दारिता केमा देखाउने । अहिले समानको आयातमै कमी आएकोले भन्सार असुली घटेको हो,’ थापाले भने । उनले नेपालगन्ज मात्रै नभइ देशभरिका सबै भन्सारहरुमा राजस्व असुलीको अवस्था उस्तै रहेको बताए । थापाले अब केही प्रतिशत असुली बढ्ने अपेक्षा गरिएको बताउँछन् ।
तथ्यांक हेर्दा पनि ठूला भन्सारका रूपमा रहेका विराटनगर, वीरगन्ज र भैरहवा भन्सार कार्यालयको राजश्व असुलीको अवस्था पनि यस्तै छ । वीरगन्ज भन्सार गत आर्थिक वर्षको साउनमा ९९ दशमलव ५ प्रतिशत असुली भएकोमा यस वर्ष ८५ दशमलव ५ प्रतिशत मात्रै असुली भएको छ भने भदौमा अघिल्लो वर्ष ११३ प्रतिशत असुली भएकोमा यसवर्ष ७३ प्रतिशत र अघिल्लो असोजमा १२० प्रतिशत असुली भएकोमा यस वर्ष मात्र ५७ दशमलव १ प्रतिशत असुली भएको छ ।
उता, विराटनगरमा अघिल्लो आर्थिक वर्षका पहिला तीन महिनामा क्रमशः ९७, ९३, ९३ प्रतिशत असुली भएकोमा यस वर्ष क्रमशः ८० दशमलव ९, ६५ दशमलव २३ र ५५ दशमलव १३ प्रतिशत असुली भएको छ । भैरहवामा अघिल्लो वर्ष क्रमशः १०५ दशमलव ५८, १०९ दशमलव ५९ र असोजमा ११२ दशमलव ८ प्रतिशत असुली भएकोमा यस वर्ष क्रमशः ७० दशमलव ९८, ६६ दशमलव ९३ र ४१ दशमलव ४६ प्रतिशतमात्रै असुली भएको छ ।
अवैध सामान ओसारपसार बढ्दै जाँदा पनि भन्सारको कर कम संकलन भएको हुन सक्ने स्थानीयको भनाइ छ । ‘दैनिक लाखौँ मूल्य बराबरका सामान अवैधरुपमा ओसारपसार हुन्छ,’ नाम नबताउने सर्तमा भन्सार नजिकै घर भएका एकजनाले भने, ‘तस्करी बढ्दा कर त स्वतहः घट्ने भइहाल्यो ।’ अहिले भन्सारका कर्मचारीहरु कर संकलनभन्दा मिलोमतोमा सामान ओसारपसार गर्ने काममा संलग्न भएको उनको आरोप छ । उनको आरोपको नजिक माथि उल्लेखित तथ्यांकले पु¥याउँछ । भन्सारमा तस्करी र अवैध सामान ओसारपसार गर्ने हो भने करको लक्ष्य सहजै भेटाउने सकिने कतिपयको भनाइ छ ।
ब्याकमेल गर्ने कर्मचारी होइन रहेछन्ः भन्सार प्रमुख
केही दिनअघि भन्सार नतिरेको भन्दै समान बरामद गरिएकी एक महिलालाई राति फोन गरेर ब्लाकमेल गर्न खोज्ने व्यक्ति भन्सारका कर्मचारी नरहेको पाइएको भन्सार प्रमुख नरबहादुर थापाले बताए ।
त्यसरी फोन गरिएको नम्बर भन्सारका कुनै पनि कर्मचारीको नरहेको पाइएको उनले बताए । भन्सारका कर्मचारी नरहेको हुँदा थप कारबाही अघि बढाउन नसकिएको उनको भनाइ छ । ती व्यक्ति को हुन् भन्ने पहिचान पनि नभएको थापाको भनाइ छ ।
गत शनिबार कालीकोट घर भई सुर्खेत बस्दै आएकी महिलाले भारतबाट सामान किनेर फर्किँदा भन्सारको यात्रु शाखामा शुल्क तिर्नुपर्दैनन भन्दै आफूलाई कर्मचारी बताउने एक व्यक्तिले मोबाइल नम्बर दिएर पठाएका थिए ।
पनि नम्बर लिएका ती व्यक्तिले महिलाको सामान बाटोमा समातिएपछि राति फोन गरेर आफूलाई भेट्न आएमा सामान छुटाइदिने बताएका थिए । उनले यस विषयमा भन्सार कार्यालयमा जाहेरी दिएकी थिइन् ।
ती महिलालाई ब्ल्याकमेल गर्न खोज्ने व्यक्तिसँग मिसन टुडेको टेलिफोन संवाद भएको छ । उनको मोबाइल नम्बरमा सम्पर्क गर्दा उनले परिचय खुलाउन चाहेनन् । बरु आफूले ती महिलालाई सहयोग गर्न चाहेको तर्क गरे । उनले आफूले नाकामा सबैले सहयोग मागेमा सहयोग गरिदिने गरेको बताए । उनी आफू भन्सारको कर्मचारी भने नभएको बताउँछन् ।
भन्सार नजिकका स्थानीयहरुका अनुसार नाकामा यसरी सहयोगका नाममा ब्ल्याकमेल गर्न खोज्नेहरु सक्रिय छन् । उनीहरुको कर्मचारीसँग पनि साँठगाँठ हुने गरेको छ । ती व्यक्ति पनि आफूले कर्मचारीलाई ‘रिक्वेस्ट’ गरेर अप्ठ्यारोमा परेकालाई सहयोग गर्ने गरेको बताउँछन् । ‘मैले त रिक्वेस्ट गरेर केही हुन्छ भने गरिदिने हो । मेरो खासै त्यस्तो छैन,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्