बाँकेसहित पश्चिममा भूकम्पको धक्काः ६ जनाको मृत्यु, पाँचजना घाइते



बाँके ।

मंगलबार मध्यराति बाँकेसहित पश्चिम नेपालका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बेलुकी ९ः०७ बजे डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु बनाएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का बाँके, बर्दिया, सुर्खेतलगायत पश्चिम क्षेत्रमा महसुस भएको हो ।

त्यस्तै मध्यराति २ः१२ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जमा नै केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । भूकम्पले अन्य जिल्लामा क्षति नगरे पनि सुदूरपश्चिम प्रदेशको डोटीमा मानवीय र भौतिक क्षति भएको छ । भूकम्पले घर भत्किँदा डोटीको पूर्वीचौकी गाउँपालिका–३ स्थित ठाँडा गाउँका ६ जनाको मृत्यु भएको हो ।

ठाँडा गाउँकी ३८ वर्षीया भगवती बोहरा, उनकी १३ वर्षीया छोरी सीता बोहरा र ७ वर्षीय छोरा हर्क बोहराको मृत्यु भएको डोटीका निमित्त प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) भोलाप्रसाद भट्टले जानकारी दिए ।

यस्तै सोही ठाउँका ४५ वर्षीय प्रेम बोहरा, उनकी १२ वर्षीया छोरी तुलसी बोहरा र राति बोहराकै घरमा सुतेकी स्थानीय महाविर बोहराकी १७ वर्षीया छोरी धनसरीको पनि घरमा पुरिएर मृत्यु भएको छ । भूकम्पले सोही वडाका पाँचजना घाइते भएका छन् ।

घाइते हुनेमा ४५ वर्षीय महाविर बोहरा, ४० वर्षीय इन्नरी बोहरा, ४५ वर्षीया बिस्नादेवी बोहरा, ४६ वर्षीय चनादेवी बोहरा र ११ वर्षीया धौली बोहरा छन् । तीमध्ये चनादेवी र बिष्नादेवीलाई जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत धनगढी ल्याइएको छ ।

अन्य घाइतेको जिल्ला अस्पताल डोटीमा नै उपचार भइरहेको छ । भूकम्पले ठाँडा गाउँका आठवटा घर भत्काएको छ भने जिल्लाका अन्य स्थानमा पनि भौतिक क्षति भए पनि मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ कात्तिक २४ गते बिहीबार