बाँके ।
बैंक तथा वित्तीय संस्थाहरुले वृद्धि गरेको उच्च ब्याजदरको विरोध गर्दै कोहलपुरका उद्योगी व्यवसायीहरुले विरोध प्रदर्शन गरेका छन् । कोहलपुर उद्योग वाणिज्य संघको अगुवाइमा बुधबार उद्योगी व्यवसायीहरुले विरोध प्रदर्शन गरेका हुन् । वित्तीय संस्थाहरुले वृद्धि गरेको ब्याजदर र नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पुँजी कर्जा निर्देशिका–२०७९ परिमार्जनको मागसमेत उनीहरुले गरेका छन् ।
कोहलपुर न्यूरोड चोकबाट सुरु भएको विरोध ¥याली सहरका विभिन्न भाग परिक्रमा गरेर पुनः न्यूरोड चोकमै आएर उक्त ¥याली कोणसभामा परिणत भएको थियो । ¥यालीमा सहभागी उद्योगी व्यवसायीहरुले बैंक आतंक बन्द गर, ब्याजदर स्थिर गर, ब्याजदर चर्को भो गरी खान गाह्रो भो जस्ता नारासहितको प्ले कार्ड बोकेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य चक्र अधिकारीले बैंक वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको ब्याजदरले सबै उद्योगी व्यवसायीहरु सडकमा आउने परिस्थिति सिर्जना भएको बताए । ‘बैंकका कारण व्यवसायी सडकमा आउने परिस्थिति बनेको छ,’ उनले भने, ‘आन्दोलनको विकल्प नरहेको र आन्दोलनलाई बैंकमा ताला लगाउने स्थितिसम्म नपु¥याउन सम्बन्धित सबैलाई आग्रह गर्दछुँ ।’
आन्दोलनमा कुनै राजनैतिक सम्बन्ध नभएको दाबी गर्दै अधिकारीले ब्याजदर नियन्त्रणका निम्ति महासंघबाट समेत पहल गर्ने बताए । नेपाल वाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य नरेन्द्रप्रसाद शर्माले सीमित १०/१२ जनाको चंगुलमा पुगेकोले देशको अर्थतन्त्र धरासायी भएको टिप्पणी गरे । ‘सीमित व्यक्तिको लाभको बोझ व्यवसायीले बोक्नु परिरहेको छ,’ उनले भने, ‘राज्यका निकम्मा निकायहरुले तरलताको स्थिति नियन्त्रण नगरी ब्याज र आधार दरको भारि सर्वसाधारणको टाउकोमा थुपारिरहेको छ ।’
कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मणराज पौडेलले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति एवम् चालु पुँजीकर्जा निर्देशिका–२०७९ ले व्यवसायीलाई धरासायी बनाएको बताए । ‘निर्देशिका बैंक वित्तीय संस्थाहरुको हितमा मात्र भएकाले अविलम्ब परिमार्जन नभएसम्म चरणबद्ध आन्दोलनमा हुन्छ,’ उनले भने, ‘व्यवसायीहरुलाई सडकसम्म पु¥याउने गरी गरिएको चर्को ब्याजदर अविलम्ब फिर्ता गर्नुपर्छ ।’
आन्दोलनमा प्रमुख र उपप्रमुखको ऐक्यबद्धता
कोहलपुरका उद्योगी व्यवसायीले बैंकहरुविरुद्ध गरेको आन्दोलनमा कोहलपुर नगरपालिकाका प्रमुख र उपप्रमुखले ऐक्यबद्धता जनाएका
छन् । व्यवसायीहरुले बैंकविरुद्ध गरेको आन्दोलनका बुधबार कोहलपुर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीले सहभागिता जनाएका थिए ।
उक्त अवसरमा बोल्दै नगर प्रमुख आचार्यले व्यवसायीलाई परेको मर्काप्रति ऐक्यबद्धता जनाउँदै चर्को ब्याजदरका कारण व्यवसायी आफ्नो पेसाबाट विस्थापित भइरहेको बताए । ‘व्यवसायीमात्र हैन आर्थिक तरलताकै कारण सर्वसाधारणको घरमा समेत चुलो बल्न कठिन भएको छ,’ उनले भने, ‘राज्यले ठोस र दीर्घकालीन नीति लिन नसक्ने हो भने राजनीतिका अनेक आयामहरु ओझेलमा पर्ने छन् ।’
सरकारले ब्याज जस्तो गम्भीर विषयलाई नियन्त्रण गर्न नसके जनस्तरमा दूरगामी असर पर्ने मात्र नभइ आर्थिकरुपमा व्यवसाय र व्यवसायी टाट पल्टिने र राज्यको आयस्रोतसमेत सुक्ने नगर प्रमुख आचार्यले दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्