नेपाल–भारतका सुरक्षा अधिकारीको बैठक



नेपालगन्ज ।

नेपाल भारतका सुरक्षा अधिकारीहरुबीच नेपालगन्जमा बैठक सम्पन्न भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि सुरक्षालाई लिएर बैठक बसेको हो ।

बाँकेका रहेका सुरक्षा अधिकारीहरु र भारतका सीमावर्ती जिल्लाहरु श्रावस्ती र बहराइचका सुरक्षा अधिकारीहरु सहभागी बैठकमा विभिन्न सुरक्षा एजेण्डाहरुमा छलफल भएको थियो ।

जसअनुसार निर्वाचनको ७२ घण्टादेखि दुईदेशीय सीमानाका बन्द गर्ने, सुरक्षाका लागि सीमामा संयुक्त गस्ती बढाउने, हातहतियार घुसपैठ तथा निर्वाचन सुरक्षामा असर गर्ने कुनै पनि गतिविध गर्न नदिन दुवै देशका सुरक्षा निकायहरु मिलेर काम गर्ने विषयमा छलफल भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए ।

उक्त बैठकमा बाँकेका प्रमुख जिल्ला अधिकारी खत्री, बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, दुवै जिल्लाका प्रहरी प्रमुखहरु, सशस्त्र प्रहरी प्रमुखहरु, राष्ट्रिय अनुसन्धानका प्रमुखहरु, भारतीय पक्षबाट बहराइच जिल्लाका जिल्ला मजिस्ट्रेड डा.दिनेश चन्द्रा, श्रावस्ती जिल्लाका जिल्ला मजिस्ट्रेड स्नेहा प्रकाश, दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको सहभागिता छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २४ गते बिहीबार