बाँके क्षेत्र नम्बर २ः एमाले–राप्रपा गठबन्धनको प्रतिबद्धतापत्र



नेपालगन्ज ।

बाँके क्षेत्र नम्बर २ मा एमाले–राप्रपा गठबन्धनले ३२ बुँदे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राप्रपाका डा. धवलशमशेर राणा र प्रदेशसभा सदस्यमा उम्मेदवार रहेका एमालेका विजय यादव र निरक गुरुङले संयुक्त प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

यस क्षेत्रमा रहेका नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका स्थानीय समस्यालाई केन्द्रित गरेर प्रतिबद्धतापत्रमा बुँदाहरु समेटिएका छन्् । उम्मेदवारहरुसँगै राप्रपाका वरिष्ठ नेता पशुपतिशमशेर राणा, पूर्वमन्त्री फत्तेसिंह थारु, एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र, दीपा शर्मा, पूर्व केन्द्रीय सदस्य देवराज भारलगायतको उपस्थितिमा प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो ।

डुडुवामा कन्या स्कुल र स्नातक कलेज, तालतलैयाको संरक्षण, नेपालगन्जलाई मेडिकल हब बनाउन पर्यटनलाई प्रोत्साहन, नेपालगन्ज–डुडुवा कनेक्टिभ रोड विस्तार र स्तरोन्नति, सिँचाइ प्रबन्ध, राप्ती नदीको कटान, डुबान र पटान रोक्न तटबन्ध, हरियाली र सफा सहरका लागि वृक्षारोपण, नेपालगन्ज बाहिरबाट आउटर रिङरोड निर्माण, विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने, मल उद्योग बनाउन पहल गर्ने, डुडुवामा खेल मैदान बनाउने, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ कात्तिक २४ गते बिहीबार