नेपालगन्ज ।
जनता समाजवादी पार्टी (जसपा) बाट बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले आफ्नो स्थानीय चुनावी प्रतिबद्धता सार्वजनिक गरेका छन् । नेपालगन्जमा पत्रकार साक्षात्कार कार्यक्रम आयोजना गरेर राईले ‘इश्तियाकका १० दृष्टि’ शीर्षक दिएर प्रतिबद्धता सार्वजनिक गरे ।
अडियो भिडियो परिचयात्मक भिडियोसहित पत्रकार साक्षात्कार कार्यक्रममा उपस्थित भएका इश्तियाकले स्वास्थ्य, शिक्षा, कृषि, खेल, युवा, सामाजिक सुरक्षा, वातावरण, पूर्वाधार विकास, पर्यटन, समुन्नत सहरलाई प्राथमिकताक्रममा राखेर आफ्ना एजेण्डा सार्वजनिक गरे । शिक्षामा स्मार्ट विद्यालय र नमुना विद्यालयको कुरा गरेका इश्तियाकले समयमा मल पु¥याउने वाचा पनि समेटेका छन् ।
आफ्ना एजेण्डा सार्वजनिक गर्ने कार्यक्रममा राई आफ्ना प्रतिस्पर्धी राप्रपाका डा. धवलशमशेर राणामाथि खनिए । उनले आफूलाई शिलान्यास मन्त्री, चुरन मन्त्री र बेवारिसे मन्त्री भनेर आक्षेप लगाइएको भन्दै पटकपटक आक्रोश पोखे ।
कार्यक्रममा पत्रकारले उनको सम्पत्तिको स्रोत र आर्थिक क्रियाकलापबारे प्रश्नहरु उठिरहेको भन्दै राखेको जिज्ञामा पनि उनले आक्रोशित भएर जवाफ दिए । आफ्नो पैतृक सम्पत्ति र व्यवसायको कमाइ नै मुख्य आम्दानीको स्रोत भएको उनको दाबी थियो । यथार्थ तोडमोड गरी अनावश्यक लान्छना लगाउने काम गरिएको भन्दै उनले त्यसको कडा शब्दमा प्रतिवाद गरे ।
समयमै मल पु¥याउने भन्दै उल्लेख गरेको उनको एजेण्डाबारे सोधिएको प्रश्नमा उनले मल उद्योग सञ्चालन देशले धान्न नसक्ने बरु अहिलेको मल आयातको पद्दतिमा सुधार गर्नुपर्ने धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्