21 February 2024  |   बिहिबार, फाल्गुन १०, २०८०

सरकारले बढायो धानको मूल्य

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, कार्तिक २४, २०७९  

नेपालगन्ज (बाँके) ।

सरकारले यस वर्ष किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य बढाएको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार सरकारले क्विन्टलमा दुई सय २६ रूपैयाँ बढाएको हो ।

आर्थिक वर्ष २०७९/८० का लागि मोटा धानप्रति क्विन्टल दुई हजार नौ सय ६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य तीन हजार एक सय २८ रुपैयाँ तोकिएको कृषि मन्त्रालयका प्रवक्ता एवम् सहसचिव प्रकाशकुमार सञ्जेलले बताए ।

यो मूल्य गत वर्षभन्दा मोटा धानमा प्रतिक्विन्टल दुई सय १५ रुपैयाँ र मध्यम धानमा दुई सय २६ रुपैयाँले बढी हो । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्ने मन्त्रालयले जनाएको छ ।

सरकारले ढिलो गरी यस वर्ष धानको न्यूनतम मूल्य निर्धारण गरेको हो । गत वर्षभन्दा यस वर्ष धानको मूल्य बढे पनि पर्याप्त बढ्न नसकेको किसानले जनाएका छन् । ‘सरकारले किसानलाई सम्बोधन गर्ने गरी धानको मूल्य बढाएन,’ राप्तीसोनारी–३, पहल चौधरीले भने, ‘मूल्य निर्धारण भए पनि धान खरिदमा ध्यान दिनुपर्छ ।’

किसानले उत्पादन गरेको सबै धान बिक्री गर्ने अवस्था नहुँदा समस्या हुने भन्दै उनले सरकारले किसानले उत्पादन गरेर बिक्री गर्न चाहेजतिको धान बिक्री गर्न पाउने पर्ने बताए । सरकारले ढिलो गरी धानको न्यूनतम मूल्य निर्धारणलाई कार्यान्वयनमा ध्यान दिनुपर्ने बाँकेका किसानले जनाएका छन् ।

बाँकेमा रोपाइँमा वर्षा नहुँदा र धान भिœयाउँदा पानी परेकाले यस वर्ष पहिला जस्तो धान उत्पादन भएको छैन ।

प्रकाशित मितिः बिहिबार, कार्तिक २४, २०७९     8:58:04 AM  |